२९ फागुन, गोरखा । गोरखामा भएको मिनी ट्रक दुर्घटनाका घाइतेमध्ये थप एक जनाको ज्यान गएको छ । दोलखा घर भई हाल राष्ट्रिय वाणिज्य बैक गजुरी शाखामा कार्यरत बिष्णु खड्काको उपचारका लागी भरतपुर लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सवार बा ८६ प १७८५ नम्वरको मोटरसाइकललाई विपरित दिशाबाट अनियन्त्रित रुपमा आएको मिनी ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा परी ट्रक चालक (सवारी धनि समेत रहेका) आरुघाटका उमेश श्रेष्ठको उपचारका लागी गोरखा अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो । यो सँगै मृतकको संख्या दुई पुगेको छ ।
दुर्घटनाका अन्य घाइतेहरु उपचाररत रहेको डिएसपी लिलाराज लामिछानेले बताए । उनका अनुसार दुर्घटनामा परी शहिद लखन गाउँपालिका वडा नम्वर ७ घर भई हाल गोरखा नगरपालिका–९ बस्ने रमला राना मगर, शहिद लखन गाउँपालिककै लाल बहादुर गुरुङ, नारायण भुजेल, बुद्धी बहादुर नेपाली, गोरखा नगरपालिका–१० की सावित्री बिक र बर्दियाका मंगल चौधरी घाइते भएका हुन् । उनीहरुमध्ये भुजेलको गोरखा अस्पताल र अन्यको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सोमवार दिउँसो करिव एक बजे गोरखा बसपार्कबाट आँबुखैरेनी जादै गरेको प्र.३–०१–००३ क ६१७० नम्वरको मिनी ट्रक अनियन्त्रित भइ बिसौनीमोडको सडकदेखि करिव २० मिटर तल खसेको थियो । अनियन्त्रित रुपमा आएको उक्त ट्रकले विपरित दिशाबाट आएको मोटरसाइकल र केही पैदल यात्रीलाई समेत लातार्दै लगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



































