८ चैत्र, गोरखा । अपाङ्गता भएका व्यक्तिहरुका निम्ति अपाङ्गता अधिकार पैरवी तथा वकालत सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोरखा नेत्रहीन संघको आयोजनामा वुधवार जिल्ला सदरमुकाममा कार्यक्रम भएको हो ।
कार्यक्रमका सहभागीहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई जीवनउपयोगी तालिमसँगै उत्पादित बस्तुको बजार व्यवस्थापनमा पनि सहयोग गर्नुपर्ने बताएका छन् । कार्यक्रममा पुर्नस्थापना कार्यक्रम मार्फत अपाङ्गता भएका व्यक्तिहरु लक्षित गरी जिल्लामा संचालन भएका तालिम र कामहरुका बारेमा जानकारी समेत गराइएको थियो ।
गोरखा नगरपालिकाको स्वाँरा र ढुङ्गागाडे भन्ज्याङ नजिकै रहेको संघको तालिम तथा पुर्नस्थापना केन्द्र भवनमा बिभिन्न खालका तालिमहरु संचालन हुदै आएको र सावुन उद्योग संचालनको तयारी समेत भइरहेको संघले जनाएको छ ।
संघका जिल्ला अध्यक्ष पवन कुमार बस्नेतको अध्यक्षता तथा जिल्ला समन्वय समिति उपप्रमुख लिला परियारको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका अधिकृत गणेश भट्टराई, जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेक बहादुर कोइराला, गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट हरि कुमार श्रेष्ठ, स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्का, उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष भगवान बाबु मास्के, होटल व्यवसायी संघका निधि प्रसाद तिमिल्सिना, मानव अधिकार संजालका अध्यक्ष यदु अधिकारी लगायतले मन्तव्य राखेका थिए ।



































