१० चैत्र, गोरखा । चालु आर्थिक बर्ष जिल्लामा १ सय १५ जनामा क्षयरोग संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्क अनुसार ४४ जना महिला र ७१ जना पुरुषमा क्षयरोग संक्रमण देखिएको हो । उनीहरुमध्ये पाँच जना १४ बर्ष मुनिका बालबालिका रहेको कार्यालयले जनाएको छ ।
सबैभन्दा बढी गोरखा नगरपालिकामा १७ र सबैभन्दा कम चुमनुव्री गाउँपालिकामा ४ जनामा संक्रमण देखिएको कार्यालयका निमित्त प्रमुख नरजंग ठकुरीले बताए । त्यस्तै आरुघाट गाउँपालिकामा १५, बारपाक सुलिकोट गाउँपालिकामा १४, पालुङटार नगरपालिकामा १३, शहिद लखन गाउँपालिकामा १२ र धार्चे गाउँपालिकामा १० जनामा संक्रमण पुष्टी भएको उनले जानकारी दिए ।
उनका अनुसार गण्डकी गाउँपालिकामा ९, अजिरकोट र भीमसेन थापा गाउँपालिकामा ८/८ र सिरानचोक गाउँपालिकामा ५ जनामा क्षयरोग देखिएको छ । गत आर्थिक बर्ष जिल्लामा २ सय १५ जना संक्रमित थिए ।
विश्व क्षयरोग दिवसको अवसरमा शुक्रवार स्वास्थ्य कार्यालयद्धारा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा गोरखा अस्पतालकी सनक थापाले क्षयरोगबारे जानकारी गराएकी थिइन् । क्षयरोग सरुवा रोग भएकाले श्वास प्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने उनले जानकारी गराइन् ।
साँझपख हल्का ज्वरो आउनु, खाना खान मन नलाग्नु, तौल घट्नु, कमजोर हुदै जानु, छाति दुख्नु, सास फेर्न गाह्रो हुनु र खकारमा रगत देखिनु यसका लक्षण हुन् । नियमित उपचार गरेमा क्षयरोग पूर्ण रुपमा निको हुने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार क्षयरोगका बिरामीले नियमित ६ महिनासम्म औषधी सेवन गर्नुपर्ने हुन्छ ।



































