२९ चैत्र, गोरखा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले स्वर्णिम वाग्लेको आवश्यकता कांग्रेस पार्टीमा नरहेको बताएका छन् । पार्टीमा योगदान र लगानी नभएको भन्दै वाग्लेले पार्टी छाडेको बिषयलाई धेरै ‘हाइलाइट’ गर्नु आवश्यक नरहेको उनले बताए ।
‘उहाँ बुढानिल स्कुलबाट एसएलसी दिने वित्तिकै बिदेश जानुभयो, उतै जागिर खानुभयो,’ वधुवार जिल्लाका पत्रकारसँग कुरकानी गर्दै पाण्डेले भने, ‘हाम्रै नेतृत्वले ल्याएर योजना आयोगमा अवसर दियो, त्यसपछि मात्र तपाई हामिले उहाँलाई चिनेको हो, पार्टीमा आजसम्म उहाँको केही देन छैन ।’
निर्वाचनअघि पनि बिदेश रहेका वाग्ले टिकट पाउने आशमा नेपाल आएको तर नपाएपछि पुनः उतै फर्किएको पाण्डेले बताए । कांग्रेसमा पैसा तिरे मात्र अवसर पाइने भन्ने वाग्लेको आरोप गलत रहेको भन्दै उनले थपे, ‘त्यसो हो भने उहाँ कति पैसा तिरेर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्नुभएको हो, त्यो जनताको अगाडी भन्नुप¥यो । फेरी उहाँको पार्टीको मन्त्री बनाउँदाको करोड काण्डपनि बाहिर आएको छ, उहाँ कति पैसा बुझाएर टिकट लिन जानुभयो त्यो पनि भन्दिनुप¥यो ।’
अनावश्यक आरोप लगाउनुभन्दा प्रमाण सहित बोल्न उनले सुझाव समेत दिएका छन् । वाग्लेका कारण तनहूँ कांग्रेसमा बिचलन नआउने उनको तर्क छ ।
गण्डकी प्रदेशका भावी मुख्यमन्त्रीका रुपमा हेरिएका पाण्डेले हालका मुख्यमन्त्री खगराज अधिकारीलाई समेत कटाक्ष गरेका छन् । अल्पमतमा परेपनि पदमा बसिराख्नु उचित नभएको भन्दै संसदमा आफ्नो परिक्षण गरेर जान उनले सुझाव दिएका छन् । ‘अल्पमतमा परिसकेपछि नैतिकताको आधारमा पद छाड्नुपर्ने हो, तर बसिराख्नु भएको छ,’ उनले भने, ‘केही उद्घाटन बाँकी छ रे ! त्यो सकेर जानुस् भनेको छु ।’ बैशाख ११ गते गोरखाले मुख्यमन्त्री पाउनेमा आफू विश्वस्त रहेको बताउँदै उनले आलोपालो भने हुन सक्ने बताए ।



































