पालुङटार नगरपालिकामा छाडा छाडिएका कुकुरलाई रेविज बिरुद्धको खोप लगाइएको छ । मंगलवार र बुधवार ठाटीपोखरी बजार क्षेत्रमा भेटिएका ३८ वटा कुकुरलाई खोप लगाइएको पशु चिकित्सक डा. सुरज मरहट्टाले बताए ।
स्थानीय बौद्ध हिमाली युवा क्लबको समन्वय र नगरपालिका पशु शाखाको प्राविधिक सहयोगमा खोज अभियान संचालन गरिएको उनले जानकारी दिए ।
‘माग भएको ठाउँमा हामी गएर कुकुरलाई रेविज बिरुद्धको खोप लगाइदिन्छौ,’ उनले भने, ‘नगरपालिकाको पशु शाखा र केही वडामा यो सेवा नियमित पनि छ ।’ वडा नम्वर १, ७ र ९ ले नियमित खोप सेवा संचालन गरेको उनले जानकारी दिए ।
केही समयअघि नगरपालिकाको दश वटै वडामा रेविज विरुद्धको खोप अभियान संचालन भएकोे थियो । उक्त अभियानमा एक सय ५० भन्दा बढी सामुदायिक कुकुरलाई खोप लगाइएको डा. मरहट्टाले जानकारी दिए ।
उनका अनुसार सन् २०३० सम्म कुकुरको टोकाइबाट हुने मृत्युदर शुन्यमा झार्ने लक्ष्यसँगै रेविज रोग नियन्त्रणका लागी अभियान तिव्रता दिइएको हो ।



































