५ जेठ, गोरखा । गोरखा नगरपालिकाका सौन्दर्यकला व्यवसायीहरुलाई लक्षित गरी ‘ब्राइडल’ (मेकअप) तालिम शुरु भएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग र गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी बिकास समितिको आयोजनामा तालिम शुरु भएको हो ।
तालिमको बिहीवार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले उद्घाटन गरेका छन् । ‘ब्राइडल’ दुलही सिर्गार्ने मेकअप सम्बन्धी बिशेष तालिम रहेको बताइएको छ । तालिममा गोरखा नगरपालिका भित्र व्यवसाय संचालन गर्दै आएका २९ जनाको सहभागीता रहेको छ । सात दिनसम्म संचालन हुने तालिम अवधिभर मुख्य प्रशिक्षक अनिता खड्का र सहायक प्रशिक्षक निशा श्रेष्ठले सहजिकरण गर्नेछन् ।
गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी बिकास समितिकी अध्यक्ष शुशिला श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिका मेयर रानाको प्रमुख अतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, महिला उद्यमी बिकास समितिका निवर्तमान अध्यक्ष रिता रेग्मी लगायतले मन्तव्य राखेका थिए ।



































