५ असार, गोरखा । जिल्ला एम्वुलेन्स व्यवस्थापन समिति गोरखामा हालसम्म ५७ वटा एम्वुलेन्स सूचिकृत छन् । भन्सार छुटका लागी जिल्लाबाटै अनुमति लिएका ती एम्वुलेन्सहरुले जिल्लामै सेवा दिनुपर्ने हो । तर नियम विपरित तीमध्ये केही अन्य जिल्लामा संचालन भइरहेका छन् ।
गोरखा नगरपालिका–८ स्थित कोमल बहादुर स्मृती प्रतिष्ठानको नाममा रहेको बा १४ च ३२१० नम्वरको एम्वुलेन्स, गोरखा उद्यमशिल बचत तथा सहकारी संस्थाको ग १ च ९८८५ नम्वरको एम्वुलेन्स, गण्डकी गाउँपालिका फुजेलको काजीमान स्मृती प्रतिष्ठानको ग २ च ४७०० नम्वरको एम्वुलेन्स, सिरानचोक गाउँपालिका छोप्राकस्थित शहीद भीमसेन स्मृती प्रतिष्ठानको ग २ च ३३८ नम्वरको र उद्योग वाणिज्य संघ मनकामना इकाइको ग २ च १८३० नम्वरको एम्वुलेन्स जिल्ला बाहिर संचालन भइरहेको जिल्ला एम्वुलेन्स व्यवस्थापन समितिले जनाएको छ ।
ती एम्वुलेन्सलाई नियन्त्रणमा लिन समितिले जिल्ला ट्राफिक प्रहरीलाई आग्रह गरेको छ । ‘नियन्त्रणमा लिएर समितिको सचिवालयमा पेश गर्न भनेका छौ,’ समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भने, ‘आवश्यक कारवाही प्रक्रिया अघि बढाउछौ ।’ एम्वुलेन्स चालकहरुको मादक पदार्थ सेवन (मापसे) चेकजाँच गर्न समेत भनिएको उनले जानकारी दिए । ‘चालकले यात्राको क्रममा मापसे गर्ने गरेको भन्ने गुनासो आएको छ, अव उनीहरुको पनि मापसे चेकिङ हुन्छ’, उनले भने ।
स्थानीय तहमा रहेका एम्वुलेन्सको विवरण संकलनको काम पनि शुरु भएको छ । स्वास्थ्य कार्यालयले सम्पूर्ण पालिकालाई पत्राचार गर्दै पालिकाभित्र रहेका एम्वुलेन्सको विवरण माग गरेको छ । साथै राष्ट्रिय एम्वुलेन्स निर्देशिका २०७८ ले तोकेका शर्तहरु पालना भए नभएको र स्थानीय तहलाई थप एम्वुलेन्स आवश्यक रहे नरहेको विवरण पनि माग गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले बताए ।
वर्गिकरणमा पनि अटेर
जिल्लाका एम्वुलेन्सहरुले वर्गिकरणमा समेत समितिलाई अटेर गरेका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हाल रहेका सबै एम्वुलेन्स ‘ग’ वर्गका छन् । राष्ट्रिय एम्वुलेन्स निर्देशिका २०७८ अनुसार ‘ग’ वर्गको लाई एम्वुलेन्स भन्न नमिल्ने कार्यालयका खड्काले बताए ।
‘ग वर्गलाई की ‘ख’ वर्गमा स्तरोन्नती गर्नुप¥यो होइन भने एम्वुलेन्स शब्द हटाएर बिरामी ओसार पसार गर्ने साधन लेख्नुप¥यो,’ उनले भने । त्यसका लागी सम्बन्धित एम्वुलेन्स संचालकहरुलाई पत्राचार समेत गरिसकिएको उनले जानकारी दिए ।



































