६ असार, गोरखा । नेपाल पत्रकार महासंघ गोरखा शाखाका २९ जना साधारण सदस्यमध्ये ९ जनाको सदस्यता नविकरण नहुने भएको छ । पत्रकार महासंघ गोरखा शाखाको सोमवार बसेको पदाधिकारी बैठकले उनीहरुको सदस्यता नविकरण नगर्ने निर्णय गरेको हो ।
पत्रकारिताभन्दा अन्य क्षेत्रमा क्रियाशिल रही बिभिन्न जिम्मेवारी वहन गर्दै आएका कारण उनीहरुको सदस्यता नविकरण नगर्ने निर्णय गरिएको पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरि सापकोटाले बताए । ‘नेपाल पत्रकार महासंघको विधान, सदस्यता शुद्धीकरण अभियानको केन्द्रिय र जिल्लाको मापदण्डलाई आत्मसाथ गर्दै हामीले यो निर्णय गरेका हौ,’ उनले भने, ‘हामीले पत्रकारिताभन्दा अन्य क्षेत्रमा क्रियाशिल भएर बिभिन्न जिम्मेवारी वहन गर्दै आउनुभएका र आफ्नो फुर्सद र अवसरका लागी मात्र पत्रकारिता गर्नेहरुलाई विगतदेखि नै सदस्यतामा कडाइ गर्दै आएका पनि छौ ।’
निर्णय अघि जिल्लाका पूर्व अध्यक्षहरु, महासंघको प्रदेश समिति र केन्द्रिय समितिसँग आवश्यक परामर्श तथा छलफल समेत भएको उनले जानकारी दिए । ‘उहाहरुमध्ये स्थापनाकालदेखि हालसम्म जिल्लाको पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनुहुने पाँच जनालाई मानार्थ सदस्य प्रदान गर्ने निर्णय समेत गरेका छौ,’ उनले भने । चार जनाको सदस्यता थप गर्ने निर्णय समेत भएको उनले बताए ।
यता महासंघले गरेको निर्णय प्रति नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति गोरखाले बिरोध जनाएको छ । गोरखा शाखाले महासंघको केन्द्रिय मापदण्ड विपरित सदस्यता खारेजीको सिफारिस गरेको भन्दै मंगलवार उनीहरुले महासंघको भवनमा तालावन्दी समेत गरेका छन् ।
नेकपा एमाले निकट प्रेस चौतारी नेपाल गोरखा शाखाले उद्धव कुमालको सदस्यता नविकरण हुुनुपर्ने माग राख्दै पत्रकार महासंघ गोरखा शाखालाई ज्ञापन पत्र बुझाएको छ ।



































