१३ असार, गोरखा । अजिरकोट गाउँपालिकाले मिटरव्याजी, चोके वा अन्य कुनै पनि सामन्ती समस्याको अवशेषलाई निषेध गर्ने नीति लिएको छ । आगामी आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष दिपक देवकोटाले पालिकालाई बन्द र हड्ताल निषेधित क्षेत्र घोषणा गर्ने नीति रहेको बताएका छन् ।
पानीअमला, काफल, एसेलु, चुत्रो जस्ता वन्य फलफुलबाट वाइन उत्पादनका लागी अध्ययन अनुसन्धान गरिने उनले जानकारी दिए । खुर्पानीबाट जुस तथा वाइन उद्योग संचालनको सम्भाव्यता अध्ययन गरिने बताइएको छ ।
‘घर उद्योग’ नामाङ्कन दिइ कोदोको रक्सी उत्पादन र स्तर निर्धारण गरी ब्राण्डिङ गर्दै क्रमश अजिरकोट क्षेत्रभित्र कोदोको रक्सी उमेर समुह अनुसार प्रयोगमा प्राथमिकता दिने नीति लिइएको छ । बाह्य अल्कोहलिक पदार्थबारे छुट्टै नीति बनाइ व्यबस्थित गरिने बताइएको छ । स्थानीय उत्पादन मस्यौरा, गुन्द्रुक एवंं प्राकृतिक उत्पादन न्युरो ,टुसाको संकलन, वर्गिकरण पश्चात ब्राण्डिङ गरी गाउँपालिकामा कोसेली घर स्थापना मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा निर्यात गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कृषि तथा पशुपालनको क्षेत्रमा उपलब्ध गराइने अनुदानको दुरूपयोग गर्ने लाभग्राहीलाई कारवाहीको दायरामा ल्याई आउँदो ३ वर्षसम्म अनुदान उपलब्ध नगराउने नीतिलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ । नागेपोखर ङार्कु हाई अल्टिच्युट साइक्लिङ रुट निर्माणको लागि सम्भाव्यता अध्ययन गरिने बताइएको छ । स्थानीय अलैची, स्याउ, किवी लगायतका खेतीको व्यवहारिक ज्ञान विद्यालयमै प्रदान गरिने भएको छ ।
छोरी भए पुगिसरी कार्यक्रम मार्फत दुईवटा छोरी भई स्थायी बन्ध्याकरण गरेका दम्पतीका दुई छोरीहरूलाई कक्षा ११ र १२ मा शैक्षिक शुल्कमा दिदै आएको अनुदान कार्यक्रमले निरन्तरता पाउने बताइएको छ । सामुदायिक विद्यालयहरूको आधारभँत र माध्यमिक तहको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई अजिरकोट उत्कृष्ट शिक्षा पुरस्कार दिइने भनिएको छ ।
फाल्गुन मसान्त भित्रै पूर्वाधार आयोजना सम्झौता गरिसक्नपर्ने र जेठ मसान्तभित्र भुक्तानी लिइसक्नुपर्ने नीति अवम्बन गरिने बताइएको छ । बेरुजु फच्यौट नभएका संघ संस्था तथा समिति र व्यक्तिहरुलाई अनुदान उपलब्ध नगराउने नीति पालिकाको छ । आन्तरिक पर्यटन प्रवद्र्धन साथै कर्मचारी उत्प्रेरणाका लागि वर्षमा पाँच दिनको तलव सहितको विदा दिई कर्मचारी प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।



































