१३ भदौ, गोरखा । अरिङ्गाल पोल्न गएका आरुघाट गाउँपालिका वडा नम्वर ९ का वडा सदस्य शंकर माझीको रुखबाट लडेर मृत्यु भएको छ । मंगलवार राती नौ बजे वडा नम्वर ८ लामावगरमा अरिङ्गाल गोला पोल्ने क्रममा उनी रुखबाट लडेका हुन् ।
‘गोला पोल्न भनेर सिमलको रुखमा चढ्नुभएको रहेछ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रविन्द्र अधिकारीले भने, ‘पोल्ने क्रममा उहाँले टेक्नुभएको हाँगा भाचिएर लड्नु भएछ ।’ रुखबाट लडेर गम्भिर घाइते भएका उनको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मंगलवार राती नै मृत्यु भएको प्रहरी निरिक्षक अधिकारीले बताए ।
३६ बर्षिय माझी स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।
वडा सदस्यको निधन प्रति दुख व्यक्त गर्दै गाउँपालिकाले वुधवार शोक विदा दिएको छ । सूचना जारी गर्दै गाउँपालिकाले वुधवार गाउँपालिका कार्यालय, वडा कार्यालय, बिद्यालय तथा मातहतका कार्यालय बन्द रहने जनाएको छ ।



































