१६ कात्तिक, गोरखा । नाम्जुङदेखि शहीदलखन गाउँपालिकाको केन्द्र घैरुङसम्मको सडकखण्ड आज बिहीवारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडक स्तरोन्नतीको क्रममा पहाड कटान गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म सडक बन्द गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
सो अवधिभर उक्त सडकखण्डमा कुनै पनि सवारी साधन संचालन नहुने गाउँपालिका अध्यक्ष रमेश थापाले बताए । एम्वुलेन्स लगायतका अति आवश्यक सवारी पनि संचालन नहुने भएकाले बैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरेका छन् ।
बैकल्पिक मार्गको रुपमा तिनमाने–चिसापानी–रानीस्वाँरा हुदैँ देउराली जाने सडक र बासकोट–फिरफिरे–रानीस्वाँरा हुदैँ देउराली जाने बैकल्पिक सडक प्रयोग गर्न सकिने उनले जानकारी दिए ।
‘करिव एक महिनासम्म दैनिक चार घण्टा सडक बन्द हुन्छ,’ अध्यक्ष थापाले भने, ‘तिहार र छठको बेला भने यातायात संचालन गर्न दिइन्छ ।’ सडक बन्द गर्नका लागी प्रशासन कार्यालयले स्वीकृती समेत दिइसकेको उनले बताए । ‘पालिकाले सिफारिस गरेर पठाएको थियो त्यही आधारमा प्रशासनले स्वीकृती दिएको हो,’ उनले भने ।
नाम्जुङदेखि घैरुङसम्मको करिव साढे तीन किलोमिटर सडक कालोपत्रेका लागी सिनर्जी÷सचेत जेभीसँग ठेक्का सम्भौता भएर काम अघि बढेको हो । ९ करोड ९८ लाखमा ठेक्का सम्झौता भएको हो । सम्झौता अनुसार २०८१ साल माघ ३० गतेभित्र उक्त सडकखण्ड कालोपत्रे गरिसक्नुपर्ने छ । हालसम्म ५५ प्रतिशत काम सम्पन्न भएको बताउँदै निर्माण व्यवसायी किरण श्रेष्ठले समय अगावै काम सम्पन्न हुने दावी गरे ।
पालिकाको आफ्नै खर्चमा उक्त सडकखण्ड कालोपत्रे गर्न लागिएको हो ।



































