१६ पुस, गोरखा । निर्माण कम्पनीले कामको भुक्तानी नपाएपछि जिल्लामा निर्वाचन क्षेत्र सडक अन्तरगतका योजनाको काम रोकिएको छ । कार्यालयले भुक्तानी नदिएपछि दुवै निर्वाचन क्षेत्रमा भइरहेको सडक स्तरोन्नतीको काम निर्माण कम्पनीहरुले रोकेका हुन् ।
गोरखा निर्वाचन क्षेत्र नम्वर १ अन्तरगतको गण्डकी गाउँपालिका–५ दर्वुङफाट देखि लाकुरीबोट हुँदै दलभन्ज्याङसम्मको सडक कालोपत्रेको जिम्मा पाएको रायमाझी नवकान्तिपुर जेभीले करिव दुई करोड रकम भुक्तानी लिन बाँकी रहेको जनाएको छ ।
भुक्तानी नपाएकै कारण काम अघि बढाउन नसकिएको जेभीका जनक भट्टले बताए । ‘गत बर्ष काम गरेको तीन करोड रकम भुक्तानी भएन, यो बर्षको साउनमा जम्मा एक करोड दियो,’ उनले भने, ‘बजेट सुरक्षित नभएपछि काम बन्द गरेका हौ ।’ करिव ६ महिनादेखि काम रोकिएको उनले जानकारी दिए ।
कार्यालयसँग भुक्तानी माग्दा केन्द्रबाटै नआएको भन्दै आलटाल गर्ने गरेको उनले बताए । ‘कार्यालयसँग काम गरेको पैसा माग्दा माथिबाटै पठाएको छैन भन्छ, गरेको कामको त पैसा पाइएन अव थप काम गर्दा पैसा आउने त आश नै भएन,’ उनले भने । आर्थिक अभावकै कारण काम शुरु गर्न नसकेको बताउँदै उनले थपे, ‘गरेको कामको मात्र पैसा पाएपनि काम शुरु गर्न हुन्थ्यो, बैकको ब्याज हाल्न सकेको छैन, माल त्यत्तिकै स्टक बसेको छ, करौडौको गाडी घोडा यतिकै फाल्टु बसेको छ, कार्यालयले काम गर्नुस् हामी पैसा दिन्छौ पनि भन्न सकेको छैन ।’
उक्त सडक कालोपत्रेका लागी गोरखा सडक योजना र रायमाझी नवकान्तिपुर जेभीसँग २०७९ असार १० गते सम्झौता भएको हो । दुई बर्षमा काम सक्ने गरी सम्झौता भएपनि भुक्तानी गर्न नसक्दा काम प्रभावित बनेको छ । नौ किलोमिटर कालोपत्रे गर्नुपर्ने उक्त सडकको हालसम्म ५२ प्रतिशत भौतिक प्रगति रहेको कार्यालयले जनाएको छ । योजनाको कुल लागत २४ करोड ८२ लाख रहेको छ ।
यता निर्वाचन क्षेत्र नम्वर २ अन्तरगत घ्याम्पेशाल ताकुकोट हुडिखोला स्वाँरा सौरपानी रन्चोक पोखरी हुदै बारपाक सडक स्तरोन्नतीको जिम्मा पाएको पिआर÷नाना रिनाइसेन्स जेभीले यो बर्ष बजेट सुनिश्चित नभएका कारण काम गर्न अन्योल भएको बताएको छ । ‘गत बर्षको भुक्तानी बल्ला यो बर्ष पायौ, अव बजेट छैन रे, कसरी काम गर्ने,’ जेभीका भुपेन्द्र पौडेलले बताए ।
रकम अभावकै कारण काम अघि बढाउन नसकिने उनले जानकारी दिए । ‘हाम्रो शिर्षकमा पैसा छैन भनेर कार्यालयले भनेको छ, कार्यालय प्रमुखले काम गर्नुस् पैसा ल्याउछु त भन्नुभएको छ सामान उधारो पाइदैन काम गर्न सकिएला जस्तो छैन,’ उनले भने । उक्त सडक स्तरोन्नतीका लागी पनि २०७९ असार ९ गते सम्झौता भएको हो । कामको भुक्तानी नपाएकै कारण निर्माण व्यवसायीले कामलाई द्रुत रुपमा अघि बढाउन सकेको छैन ।
दुई बर्षमा सक्नुपर्ने उक्त योजनाको हालसम्म २२ प्रतिशत मात्र भौतिक प्रगति रहेको गोरखा सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २५ करोड ८४ लाखमा ठेक्का सम्झौता भएको हो ।
कार्यालय प्रमुख अमिन्द्र खड्काले पनि निर्माण व्यवसायीलाई काम अनुसारको भुक्तानी दिन नसक्दा काम हुन नसकेको स्वीकार गरे । ‘यो बर्ष दुवै योजनाका लागी एक÷एक करोड रकम विनियोजन भएको थियो, अघिल्लो बर्षकै भुक्तानी दिन बाँकी भएकाले त्यही रकम बाडिदियौ, अव पैसा छैन, ठेकेदारलाई काम गर भनेर भन्न पनि सकेको छैन,’ उनले भने ।
रायमाझी नवकान्तिपुर जेभीलाई कामको दुई करोड रकम भुक्तानी गर्न अझै बाँकी रहेको उनले जानकारी दिए । ‘काम शुरु गर्नु भनेर निर्माण कम्पनीलाई फोन गर्न पनि के भनेर गर्नु, पैसा माग्नुहुन्छ, यता कार्यालयमा पैसा छैन,’ उनले भने ।
भुक्तानी दिन नसकेकै कारण निर्माण व्यवसायीले ठेक्का तोड्ने चेतावनी समेत दिने गरको उनले बताए ।



































