३ माघ, गोरखा । गोरखा नगरपालिका–५ पदेलथोकस्थित गोरखा दरवार जाने बाटोमा संचालित फोटो स्टुडियो र खाजा पसलबाट सामग्री चोरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोनपा वडा नम्वर ८ आहाले भुषाल गाउँ घर भई पदेलथोक बस्ने २८ बर्षीय भरत राना रहेका छन् ।
गत पुस २४ गते रातको तीन बजे कृष्ण सिर्मलले संचालन गरेको गोरखकाली डिजिटल फोटो स्टुडियो र कविता रानाले संचालन गरेको शुभलक्ष्मी खाजा नास्ता पसल चोरी भएको थियो । फोटो स्टुडियोबाट एक थान प्रिन्टर र केही नगद गरी ४० हजार रकम बराबरको धनमाल र खाजा पसलबाट चुईगम, चोकोपाई, चाउचाउ, लेज, कुर्कुरे, रेडवुल, स्टिलको कप, बिस्कुट लगायतका करिव १५ हजार रकम बराबरको सामान चोरी भएको थियो ।
घटनाको अनुसन्धान गर्दै जादाँ रानाले उक्त सामाग्री चोरी गरेको पाइएपछि उनलाई पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए । रानाको कोठाबाट चोरी भएको प्रिन्टर र केही नगद सहित अन्य सामानहरु फेला परेको उनले जानकारी दिए ।
आइतवार पक्राउ परेका रानाबिरुद्ध मंगलवार चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



































