२४ माघ, गोरखा । लामो समयदेखि चर्चा बटुलेपनि शुरु हुन नसकेको पालुङटार सिंचाइ योजनाको काम अघि बढ्ने भएको छ । अर्काे महिनाबाट काम शुरु हुने पालुङटार कुन्दुरटार सिंचाइ आयोजनाले जनाएको छ ।
‘गुरुयोजना बनेर डिपिआर समेत तयार भइसक्यो,’ आयोजना प्रमुख शंकर बुढाथोकीले भने, ‘अर्काे महिनाबाट काम शुरु हुन्छ ।’ उक्त योजनाका लागी यो बर्ष डेढ करोड रकम विनियोजन भएको उनले जानकारी दिए । पालुङटार नगरपालिकाको वडा नम्वर ४ देखि ९ सम्मको करिव दुई हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पु¥याउने गरी उक्त योजना निर्माण गर्न लागिएको बताइएको छ ।
योजना अन्तरगत स्थानीय खोल्साखोल्सीमा पोखरी निर्माण गरी पानी लिफ्ट गर्ने, मस्र्याङ्दी नदीबाट पानी लिफ्ट गर्ने र पानीको स्रोत भएका नहरहरुको मर्मत गरिने आयोजना प्रमुख बुढाथोकीले बताए । ‘कुल ४५ वटा साना योजनाहरु प्रस्ताव गरेका छौ, ती योजना अन्तरगत यी कामहरु पर्छन्,’ उनले भने । योजना सम्पन्न गर्न करिव डेढ अर्व लाग्ने उनको भनाइ छ ।
दरौदी नदीमा १७ सय मिटर तटवन्धन निर्माण
डेढ बर्षको अन्तरालमा दरौदी नदीमा १७ सय ५० मिटर तटवन्धन निर्माण गरिएको छ । गत बर्ष १६ सय र यो बर्ष १ सय ५० मिटर तटवन्धन निर्माण गरिएको आयोजनाले जनाएको छ ।
तटवन्धन निर्माणका लागी गत बर्ष दुई करोड बढी रकम विनियोजन भएको थियो ।
यो बर्ष ७५ लाख मात्र विनियोजन भएको आयोजना प्रमुख बुढाथोकीले बताए । ‘यो बर्षको बजेटले अधिकांश ठाउँमा काम भइसक्यो, अव करिव १५–२० मिटर मात्र तटवन्धन लगाउन पुग्छ होला,’ उनले भने ।
उनका अनुसार यो बर्ष गोरखा नगरपालिका वडा नम्वर ११ को कन्याटार झोलुङ्गेफाँटमा ११० मिटर र सिरानचोक गाउँपालिका वडा नम्वर ४ को भुसुण्डेमा ४० मिटर तटवन्धन निर्माण गरिएको छ । स्थानीयको निवेदनको आधारमा नदीले कटान गरेको जोखिम क्षेत्रको स्थलगत निरिक्षण गरी आवश्यकताको आधारमा तटवन्धन निर्माण गरिएको कार्यालयले जनाएको छ ।
‘स्थानीयले तटवन्धनको माग गर्दै कार्यालयमा निवेदन दिनुहुन्छ, त्यसमा स्थानीय तहको सिफारिस अनिवार्य हुन्छ, त्यसपछि हामीले स्थलगत निरिक्षण गरेर आवश्यकता पहिचान गरेर काम गर्छाै,’ आयोजना प्रमुख बुढाथोकीले भने ।
दरौदी नदीले कटान गरेको जोखिम क्षेत्रमा तटवन्धन निर्माणका लागी गुरुयोजना सहित डिपिआर तयार गरेर मन्त्रालयमा पठाइएको उनले जानकारी दिए । बजेट सहित स्वीकृत भएर आएपछि काम अघि बढ्ने उनको भनाइ छ ।



































