२४ माघ, गोरखा । गोरखा नगरपालिका–११ पन्ध्रकिलो स्थित ओख्लेपाखा सामुदायिक वन क्षेत्रमा विना अनुमति भइरहेको पूर्वाधार निर्माणको काम रोक्न डिभिजन वन कार्यालयले निर्देशन दिएको छ । डिभिजन वन कार्यालय मातहतको गोरखकाली सवडिभिजन वन कार्यालयले उक्त कार्य रोक्न भन्दै सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिलाई पत्राचार गरेको हो ।
विना अनुमति÷इजाजत वन क्षेत्रमा पूर्वाधार (गुम्वा) निर्माण गर्न थालिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि स्थलगत निरिक्षण गरेर काम रोक्न भनिएको कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए । ‘माघ ११ गते सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिलाई आवश्यक विवरण पेश गर्न सो कार्यमा संलग्नलाई कारवाही गर्न भनेर पत्राचार गरेका छौ,’ उनले भने, ‘सो काम तत्काल रोक्न पनि भनेका छौ ।’
वडा कार्यालयसँग सो योजनाको आवश्यक विवरण समेत माग गरिएको उनले जानकारी दिए । ‘त्यहाँ गुम्वा निर्माण गर्न भनेर साङ्गे छोयलिङ गुम्वा चार कुने चौतारा निर्माण समिति पनि बनेको रहेछ, त्यो समितिलाई पनि आवश्यक जानकारी दिन भनेर पत्राचार गरेका छौ,’ पौडेलले भने ।
वडा कार्यालयका प्राविधिक सुरोज श्रेष्ठले सो क्षेत्रमा गुम्वा निर्माण गर्न लागिएको जानकारी दिए । ‘योजना गुम्वा बनाउने हो, तर अहिलेलाई सपोर्टका लागी पछाडी भागमा रिटर्निङ वाल लगाउने काम गरेका हौ,’ उनले भने । उक्त कामका लागी यो बर्ष वडाबाट तीन लाख रकम विनियोजन भएको उनले जानकारी दिए । तर वन क्षेत्रको विवादबारे वडाध्यक्षले आफूलाई केही नभनेको उनले बताए ।
यसबारेमा वडाध्यक्ष रामबहादुर खड्कासँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।



































