फागुन १९, गोरखा । सात महिनाको अवधिमा अख्तियारमा गोरखाका ३६ वटा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८०÷८१ को हालसम्म ३६ वटा उजुरी परेको हो । जसमध्ये २६ वटा उजुरी स्थानीय तह बिरुद्ध रहेका छन् ।
सबैभन्दा धेरै भिमसेन थापा गाउँपालिकाको ८ वटा उजुरी रहेको आयोगको कार्यालय पोखराका प्रमुख आस्मान तामाङले बताए । गोरखा नगरपालिकाको ६ वटा उजुरी परेको उनले जानकारी दिए । उनका अनुसार शहीद लखन थापा गाउँपालिका बिरुद्ध ४, पालुङटार नगरपालिका बिरुद्ध ३, आरुघाट गाउँपालिका बिरुद्ध २ र बारपाक सुलिकोट, सिरानचोक, गण्डकी र चुमनुव्री गाउँपालिका बिरुद्ध १÷१ वटा उजुरी परेका छन् ।
उक्त उजुरीमध्ये बारपाक सुलिकोट र शहीद लखन थापा गाउँपालिकाको भने एक÷एक वटा उजुरी फछ्र्याैट भइसकेको आयोगले जनाएको छ । आयोगका अनुसार गत आर्थिक बर्ष ३४ वटा उजुरी परेको थियो । ‘गत आवदेखि अहिलेसम्म गरी गोरखाको कुल ७० वटा उजुरी परेको थियो,’ तामाङले भने, ‘१९ वटा फछ्र्याैट भइसक्यो, ५१ वटाको छानविन भइरहेको छ ।
मनकामना मन्दिरमा भक्तजनबाट उठेको रकम, गोरखा नगरपालिकाको रानीवन स्थित शहीद स्मृति पार्क, पुथ्वी नारायण साना शहरी खानेपानी आयोजना, दरौदी लिफ्टिङ खानेपानी आयोजना, अस्पतालको स्वर्ण जयन्तीमा भएको खर्च, स्कुल बस खरिदमा फर्जी बिल प्रयोग, स्वास्थ्य बिमामा अनियमितता, भिमसेन थापा रिङरोड, डिपिआर, नदीजन्य पदार्थ, होमस्टेका लागी वितरण भएको अनुदान लगायतका बिषयमा अनियमितता भएको भन्दै उजुरी परेको आयोगले जनाएको छ ।
सोमवार आयोगको आयोजनामा जिल्ला सदरमुकाममा भएको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा सहजिकरण गर्दै आयोग पोखराका कार्यालय प्रमुख तामाङले सो कुरा जानकारी गराएका हुन् ।
कार्यक्रमका सहभागीहरुले आग्रह पूर्वाग्रह राखेर विना तथ्य र आधारमा बेनामी उजुरी दिने क्रम बढेकाले यसबारे सजग रहन अख्तियारलाई आग्रह गरेका थिए । अख्तियारमा उजुरी हाल्ने कतिपयको खेतीपाती जस्तै बन्ने गरेको भन्दै उनीहरुले अख्तियारको हाउगुजीले बिकासे आयोजनाका कामहरु समेत प्रभावित हुने गरेका बताए । काम गर्ने कर्मचारीहरुको मनोवल समेत गिर्ने गरेको धारणा उनीहरुले व्यक्त गरे ।
यता आयोगका आयुक्त किशोरकुमार सिलवालले अख्तियारमा उजुरी परेर कागजात माग्ने वित्तिकै काम रोक्नु नपर्ने बताए । ‘कसैले कुनै योजनाको बारेमा उजुरी हाल्यो भने हामी काम रोक्नुस् भन्दैनौ,’ उनले भने, ‘मिसिलमा यो काम रोक्नुस् नभनेसम्म किन काम रोक्ने ? रोक्नु पर्दैन ।’ बिकासे योजनाका कामहरु नरोकियोस् भन्ने चाहना अख्तियारको समेत रहेको उनको भनाइ छ ।
अख्तियारमा पर्ने उजुरी सदनियत र बदनियत दुवै तवरले हालेको हुनसक्ने भन्दै उनले यस बिषयमा अख्तियारले पनि ध्यान दिनुपर्ने बताए । ‘यसका लागी हामीले सम्बन्धित निकायसँग कागजपत्र माग्नुपर्छ, गलत काम नगरेको निकायले तोकिएको समयमै माग गरेको कागजपत्र पठाउँछ तर गलत गरेकाले बिभिन्न वहाना बनाउँदै ढिलासुस्ती गर्छ,’ उनले भने ।
सार्वजनिक खरिद र अनुदान वितरणमा धेरै अनियमितता हुने गरेको र यस बिषयमा छानविन गरी आवश्यक कारवाही पनि भइरहेको उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले प्रजिअले अख्तियारको अधिकार पाएको ३३ वटा जिल्लामध्ये गोरखा पनि एक रहेको बताउँदै हालसम्म ३८ वटा उजुरी परेको बताए । जसमध्ये ३१ वटा उजुरी आवश्यक कारवाहीका लागी पठाइएको र बाँकी ७ वटा छानविनकै क्रममा रहेको उनले जानकारी दिए ।
आयोगका आयुक्त सिलवालको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा स्थानीय तहका प्रमुख उपप्रमुख, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, बिभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगायतको सहभागीता रहेको थियो ।



































