९ चैत्र, गोरखा । अजिरकोट गाउँपालिकामा करिव एक अर्व खर्चेर बृहत पम्पिङ खानेपानी आयोजना बन्ने भएको छ । संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको आर्थिक सहयोगमा आयोजना बन्न लागेको हो । आयोजना निर्माणका लागी सोमवार पालिका र आयोजनाबीच सम्झौता समेत भएको छ ।
कुल लागतको ९० प्रतिशत रकम आयोजनाले व्यहोर्ने गरी सम्झौता भएको पालिका अध्यक्ष दिपक देवकोटाले बताए । बाँकी ९ प्रतिशत श्रमदान र एक प्रतिशत पालिकाले ‘क्यास’ जम्मा गर्नुपर्ने उनले जानकारी दिए । आयोजनाको डिपिआर तीन बर्ष अघि नै तयार भइसकेको बताउँदै उनले भने, ‘गत बर्ष आयोजना निर्माणका लागी पालिकाबाट चार करोड रकम पनि छुट्याएका थियौ, तर आयोजनाको कुल लागतको २५ प्रतिशत रकमको स्रोत सुनिश्चित नभएसम्म ठेक्का लगाउन नमिल्ने भएपछि स्थगित ग¥यौ ।’
यो बर्ष अर्थ मन्त्रालयले ३५ करोडको स्रोत सुनिश्चितता भएको पत्र पठाएसँगै ठेक्का लगाउन बाटो खुलेको उनले बताए । पन्ध्र दिनभित्र ठेक्का खोलेर निर्माण प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । दुई चरणमा ठेक्का लाग्ने बताउँदै उनले थपे, ‘पहिलो चरणमा ३५ करोडको ठेक्का खोल्छौ, बाँकी दोस्रो चरणको ठेक्का लाग्छ ।’
उनका अनुसार आयोजना अन्तरगत पानी वितरणका लागी ६८ वटा रिजर्भर ट्यांकी बन्ने छन् । दुधपोखरीको फेदी सिरानखोलाबाट पानी ल्याइने छ । पानीको मुहान क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणका लागी हेलिबाट सामाग्री ढुवानी हुने पालिका अध्यक्ष देवकोटाले बताए । उनले भने, ‘माथिल्लो वेल्टमा मुहान भएकाले त्यहाँ सडक पनि छैन, मान्छेले सामान बोकेर लान सम्भव पनि हुदैन, त्यसैले डिपिआरमै हामीले सामान ढुवानी हेलिकप्टरबाट गर्ने भनेर खर्च जोडेका छौ ।’
आयोजनाबाट पालिकाभित्रका करिव ३७ सय घरधुरी लाभान्वित हुने बताइएको छ । पालिकाका सबै वडाका स्थानीय लाभान्वित हुने छन् । बिशेष गरी वडा नम्वर ३, ४ र ५ मा खानेपानीको बढी समस्या भएको बताइएको छ । उक्त आयोजना बनेपछि करिव १६ बर्षसम्म अजिरकोट गाउँपालिकामा खानेपानीको समस्या नहुने पालिका अध्यक्ष देवकोटाले बताए ।
आयोजना निर्माणका लागी आवश्यक पुर्वाधार निर्माणका लागी जग्गा उपलब्ध गराउने देखि उपभोक्ता समिति गठनसम्मका कार्यमा पालिकाले समन्वय र सहजिकरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।



































