२३ चैत्र, गोरखा । गोरखा प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल गोरखा दरवारमा प्रतिष्ठापन गरिएको छ । पुरातात्विक हिसावले बहुमूल्य मानिएको उक्त पत्थर शुक्रवार एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठापन गरेका हुन् । गोरखा दरवारभित्र रहेको पृथ्वी नारायण शाहको राजगद्दी नजिकै प्रतिष्ठापन गरिएको हो ।
गत असार १४ गते गोरखा नगरपालिका–७ सतिपिपलस्थित राममाया शाहीको घरबाट उक्त क्वार्ज क्रिष्टल बरामद गरिएको हो । महँगो मूल्यमा किनबेच हुन लागेको सूचना पाएपछि घरबाटै बरामद गरेर ल्याएको प्रहरीको भनाइ छ । खानी तथा भू–गर्भ बिभागबाट आएका भूगर्भविदहरुले परीक्षण गरी उक्त ढुंगा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर रहेको बताएका थिए ।
५२.३३० केजी तौलको उक्त पत्थर नेपालमा बिरलै पाइने जानकारी गराउँदै उक्त ढुंगा विभागमा पठाउन समेत उनीहरुले आग्रह गरेका थिए । तर जिल्लाका सरोकारवालाहरुले उक्त ढुंगा गोरखामै राख्नुपर्ने माग राख्दै प्रधानमन्त्री, गृहमन्त्री लगायतलाई ज्ञापन पत्र समेत बुझाउँदै आएका थिए ।

गत फागुन ४ गते मन्त्रीपरिषदको बैठकले उक्त क्वार्ज क्रिष्टल गोरखामै राख्ने निर्णय गरेपनि संग्रहालय राख्ने वा गोरखा दरवार भन्ने बिषयमा अन्योल भयो । धार्मिक र पर्यटकीय हिसाबले गोरखा दरबारमा राख्न उचित हुने निष्कर्ष निकाल्दै फागुन ५ गते जिल्लाको सर्वपक्षिय बैठकले गोरखा दरवारमा राख्ने निर्णय ग¥यो । सोही दिनदेखि गोरखा नगरपालिकाको व्यवस्थापनमा क्वार्ज क्रिष्टल राख्ने तयारी थालिएको थियो । बरामद गरिएको उक्त पत्थर जिल्ला प्रहरी कार्यालयमा बिशेष सुरक्षा सहित राखिएको थियो । शुक्रवार प्रहरी कार्यालयदेखि दरवारसँग बाजागाजा सहित रथ यात्रा गरेर उक्त पत्थर दरवार लगेर प्रतिष्ठापन गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । प्रतिष्ठापन पश्चात बोल्दै प्रधानमन्त्री प्रचण्डले यसले पर्यटन प्रवद्र्धनमा गुणात्मक भूमिका खेल्ने बताए ।
‘गोरखा जिल्ला यसैपनि ऐतिहासिक र पर्यटकीय महत्वको जिल्ला हो भन्ने देशभरी मात्र होइन बिश्वभरी पनि स्थापित छ,’ उनले भने, ‘आजको यो प्रतिष्ठापनले यसको महत्व र भूमिकालाई व्यापक रुपमा स्थापित गर्छ भन्ने मेरो बिश्वास छ ।’ पत्थरको प्रतिष्ठापनसँगै अन्य पुर्वाधार र सुरक्षाको बिषयमा अझ गम्भिरतापूर्वक बिचार गर्न उनले सम्बन्धित निकायलाई आग्रह समेत गरे । पुर्वाधारको बिकासद्धारा पर्यटन प्रवद्र्धनको निम्ति ऐतिहासिक सांस्कृतिक महत्वको यस स्थललाई अझ व्यवस्थित बनाउन पनि उनले सुझाव दिए । जिल्लाको इतिहासलाई सम्वद्र्धन गर्न आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने उनले आश्वासन दिए ।

गोरखा दरवार संरक्षणका लागी बिकास समिति निर्माण गर्नुपर्छ
कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले गोरखा दरवारको संरक्षण र सम्वद्र्धनका लागी बिकास समिति निर्माण गर्नुपर्ने बताएका छन् । समितिको रुपमा स्थानीय जनतालाई अधिकार दिएर गोरखा दरवारको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने उनले बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनले समिति निर्माणका लागी आवश्यक पहल गरिदिन माग समेत गरेका छन् ।
ऐतिहासिक गोरखा दरवारको प्रचार प्रसारसँगै यसको बिकासका लागी बिकास निर्माण समिति आवश्यक रहेको उनको भनाइ छ । गोरखनाथ पार्क निर्माणका लागी पुरातत्व बिभागसँग छलफल भइरहेको उनले बताए । ‘गोरखाबाट राजधानी काठमाण्डौ सरेपछि गोरखा छायामा परेको छ,’ उनले भने, ‘गोरखालाई एउटा ऐतिहासिक महत्व बोकेको पर्यटकीय शहर निर्माणका लागी प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण हुन्छ, अव यो काम हुनेछ भन्ने बिश्वास लिएको छु ।’
गोरक्षधाम निर्माणका लागी बजेट विनियोजन गरिदिन प्रधानमन्त्रीलाई आग्रह
गोरखा दरवार क्षेत्रको करिव चार सय रोपनी ऐतिहासिक र धार्मिक जंगललाई समेटेर गोरक्षधाम निर्माण गर्न ऐतिहासिक क्षेत्र संरक्षण तथा बिकास समिति गोरखाले माग गरेको छ । शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै समितिले पुशपतिनाथ र मुक्तिनाथधाम जस्तै गोरखनाथधाम निर्माणका लागी आवश्यक पहल र सहयोग गरिदिन आग्रह गरेको हो ।
धाम निर्माणका लागी उक्त जंगलको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने बताउँदै त्यसका लागी बजेट विनियोजन गरिदिन समेत समितिले आग्रह गरेको छ । आगामी आर्थिक बर्ष पाँच करोड रकम विनियोजन गरिदिन उनीहरुले प्रधानमन्त्री समक्ष माग गरेका हुन् । ‘यस जंगललाई धार्मिक निकुञ्जको रुपमा बिकसित गर्दै संरक्षण र सम्वद्र्धन गरेमा गोरखामा मात्र पाइने चराचुरुङ्गीको पनि संरक्षण हुने र मिनि जु को अवधारणालाई पनि बिकास गर्न सकिने छ,’ ज्ञापन पत्रमा भनिएको छ ।
सो क्षेत्रमा पिकनिक स्पोट बनाई पार्क निर्माण गर्न सके जिल्लामा पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । गोरखकाली दरवार र गोरखनाथको व्यवस्थापनलाई सुधार गर्न सके भारतीय पर्यटकको आगमनमा वृद्धि हुने समेत समितिले जनाएको छ ।



































