३० बैशाख, गोरखा । दरौदी बृहत लिफ्टिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानीको महसुल निर्धारण गरेको छ । संस्थाको गत सोमवार बसेको बैठकले प्रति लिटर करिव ३ पैसा निर्धारण गरेको छ । ‘मासिक ७.५ यूनिटसम्म खपत गर्ने उपभोक्ताको हकमा यति शुल्क लाग्छ,’ संस्थाका अध्यक्ष बिनोदबाबु अर्यालले भने, ‘यो भनेको मासिक दुई सय रुपैया हो ।’ ७.५ देखि १५ यूनिटसम्म प्रति लिटर ४ पैसा र १५ भन्दामाथि प्रति लिटर ५ पैसा महसुल निर्धारण गरिएको उनले जानकारी दिए ।
संस्थाले हाल जिल्लाका ६ वटा खानेपानी उपभोक्ता संस्थाका करिव ३ हजार घरधुरीलाई पानी वितरण गर्दै आएको छ । दैनिक ७ लाख ५० हजार लिटर पानीको माग रहेको बताउँदै उनले ८ लाख ६४ हजार लिटर आपूर्ति हुने गरेको जानकारी दिए । उनले भने, ‘मागभन्दा करिव १३ प्रतिशत पानी बढी आपूर्ति भएको देखिन्छ, तर पाइपको हेडलस लगायतका कारणबाट १० प्रतिशत गणनामा आउँदैन ।’
पानी वितरण हुदैँ आएपनि यसअघि महशुल निर्धारण भएको थिएन । महशुल निर्धारण भएसँगै व्यक्तिगत रुपमा पनि पानी वितरण गर्ने तयारी संस्थाको छ । ‘अहिलेसम्म जिल्लाभित्रै रहेका खानेपानी संस्थाहरुलाई मात्र खानेपानी वितरण गर्दै आएका थियौ,’ अर्यालले भने, ‘अव माग अनुसार व्यक्तिगत रुपमा पनि पानी वितरण गर्छाै ।’ गोरखा सदरमुकाममा खानेपानीको दिगो आपूर्तिका लागी भन्दै दरौदी लिफ्टिङ खानेपानी आयोजना निर्माण गरिएको हो ।
आयोजना अन्तरगत मुहान क्षेत्रमा दुई वटा सम्पवयल र गार्ड घर तथा बिद्युतिय उपकरण रहेको छ । गोरखा नगरपालिका–३ घलाङमा आवश्यक उपकरण सहितको पानी प्रशोधन केन्द्र छ । पानी वितरणका लागी जलकिने, काफलघारी, गैरीकुँवा र उपल्लोकोटमा रिजर्भ ट्यांकी निर्माण भएका छन् ।
‘मुहान (दरौदी नदी) बाट पानी तानेर घलाङको प्रशोधन केन्द्रमा पु¥याइन्छ, त्यहाँ पानी शुद्धिकरण गरेर जलकिने ट्यांकी, जलकिनेबाट काफलघारी, काफलघारीबाट गैरीकुँवा र त्यहाँबाट उपल्लोकोटको ट्यांकीमा लगिन्छ, र पानी वितरण हुन्छ,’ संस्थाका अध्यक्ष अर्यालले भने ।



































