७ असार, गोरखा । अजिरकोट गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१\८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । वुधवार भएको गाउँ सभाको १५ औ अधिवेशनमा पालिका अध्यक्ष दिपक देवकोटाले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
आगामी आव कोदोको रक्सीको स्तर निर्धारण गरी ब्राण्डिङ गर्ने पालिकाको नीति छ । खुर्पानीको जुस र वाइन उद्योग संचालनका लागी सम्भाव्यता अध्ययन गरिने भएको छ । पानीअमला, काफल, एसेलु, चुत्रो जस्ता वनजन्य फलफूललाई उद्योगसँग जोड्न वाइन उत्पादन अध्ययन अनुसन्धान गरिने बताइएको छ । बटारे र स्याउ लगायतका मदिरा बिक्री वितरणमा रोक लगाउने र घरेलु मदिरालाई व्यवस्थित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
गुन्द्रुक उद्योगलाई निरन्तरता दिदैं मस्यौरा, गुन्द्रुक, न्यूरो, टुसा जस्ता स्थानीय उत्पादनको वर्गिकरण र ब्राण्डिङ गर्ने योजना रहेको पालिका अध्यक्ष देवकोटाले बताए । कोसेली घर निर्माण गरी उक्त उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म निर्यात गर्ने नीति रहेको उनले सुनाए ।
‘नेपाली कागज र दुना टपरी उद्योगको आवश्यक व्यवस्था गरिने छ,’ उनले भने, ‘डोको, नाम्लो, डालो, नाङ्लो, मान्द्रो, भकारी, राडी र बख्खुको उत्पादन, प्रवद्र्धन र बजारीकरणका कार्यक्रमहरु संचालन गर्छाै ।’
पर्यटन प्रवद्र्धनका लागी गोठ होमस्टे कार्यलाई प्रभावकारी ढंगले अघि बढाइने उनले बताए । नागेपोखरी ङार्कु हाई अल्टिच्यूट साइक्लिङ रुट निर्माणले आगामी बर्षपनि निरन्तरता पाउने भएको छ ।
बिद्यालयमा हुनेले दिने–लिने कार्यक्रम संचालन गरी बिद्यार्थीको भरणपोषणसहित शैक्षिक सुधारमा खर्च गरिने बताइएको छ । सार्वजनिक र सरकारी पदमा रहेका नागरिकका छोराछोरीलाई सामुदायिक बिद्यालयमा अनिवार्य भर्ना गरि अध्ययन गराउन प्रोत्साहन गरिने भनिएको छ ।
कृषि एम्वुलेन्स संचालन गर्ने र उत्पादित कृषि उपजको बजार मूल्य निर्धारणसँगै बजारिकरण गर्ने नीति पालिकाले लिएको छ । एक वडा एक व्यवसायिक कृषि उत्पादन कार्यक्रमले निरन्तरता पाउने भएको छ । एक वडा एक नमूना गाउँको नीति पालिकाले ल्याएको छ ।
कृषि अनुदानको दुरुपयोग गर्ने लाभग्राहीलाई तीन बर्षसम्म अनुदानबाट बञ्चित गराउने पालिकाले जनाएको छ । बाहिरबाट आयातित फलफूल तरकारीलाई निरुत्साहित गर्दै आवश्यकता अनुसार क्वारेन्टाइनको नीति अवलम्वन गर्ने बताइएको छ । आगामी आव पालिकाले भेडा, च्याङ्ग्रा, चौरी लगायतका पशु चौपायको व्यवसायिक पालनमा जोड दिने भएको छ । आलु, प्याज, लसुन, अदुवा, बेसार र खुर्सानीमा आत्मनिर्भर बन्ने नीति पालिकाले लिएको छ ।
पूर्ण रुपमा अपाङ्गता भएका र ८० बर्ष माथिका जेष्ठ नागरिक र सहिद परिवारको उपचारको लागी भच्चेक अस्पतालसम्म निशुल्क एम्वुलेन्स सेवा कार्यले आगामी बर्ष पनि निरन्तरता पाउने भएको छ ।
स्थानीय कला, संस्कृती, भेषभुषा र रितिरिवाज झल्कने संग्रहालय खोल्ने योजना पालिकाको छ । आगामी आवभित्र पालिकाको सबै घरमा बिद्युतको केन्द्रिय प्रशारण लाइन पु¥याउने नीति रहेको अध्यक्ष देवकोटाले बताए । पालिका र मातहतका कार्यालयमा रहेको प्लाष्टिकको ग्लास, थाल आदिलाई प्रतिवन्ध लगाइने र दुना टपरीको प्रयोगको व्यवस्था मिलाइने उनले जानकारी दिए ।
सेवा प्रवाह हुने कार्यालय र पर्यटकीय स्थलमा फ्री वाइफाइ जोन स्थापना गरिने बताइएको छ ।



































