उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटमा पहिरो जाँदा एकै घरपरिवारका तीन जनासहित पाँच जना वेपत्ता भएका छन् ।
आइतवार बिहान करिव तीन बजे गएको पहिरोमा पुरिएर स्थानीय ३७ बर्षीय जीतबहादुर गुरुङ सहित उनकी श्रीमती बर्ष ३५ की कान्छी माया, उनका बुबा ६० बर्षीय सुलाल कान्छा, सोही वडास्थित सिङ्लाका ३३ बर्षीय रमेश गुरुङ र सोही फर्ममा ट्याक्टर चालकको रुपमा काम गर्ने गोरखाका २४ बर्षीय रमेश परियार वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
‘वेपत्ता हुनेमा एकै घरपरिवारका तीन जना र बाँकी दुई जना त्यही फर्ममा काम गर्ने भन्ने बुझिएको छ,’ प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘उनीहरुको खोजी कार्य भइरहेको छ ।’
उनका अनुसार आइतवार साँझ सम्म पनि वेपत्ताको खोजी कार्य जारी थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खोजी कार्यमा खटिएका थिए । ‘जेसिभी समेत प्रयोग गरेर दिनभर खोजियो,’ उनले भने, ‘पहिरोले पुरिएको घरभित्रबाट सात वटा ग्यासको सिलिण्डर र वेडहरु भेटियो तर मान्छे भेटिएन,’ डिएसपी श्रेष्ठले भने । आज बिहानबाट पुनः खोजी कार्य जारी रहने उनले जानकारी दिए ।
पहिरोमा परि घाइते भएका अन्य दुई जनालाई भने उद्धार गरिएको छ । उद्धार हुनेमा सिङ्लाका ३५ बर्षीय दिलिप गुरुङ र २७ बर्षीय खमबहादुर गुरुङ रहेका छन् । उनीहरुलाई कैलाश एयरको हेलिबाट काठमाण्डौको ग्राण्डी अस्पताल लगिएको र त्यहाँबाट अहिले ट्रमा सेन्टरमा राखेर उपचार भइरहेको डिएसपी श्रेष्ठले बताए । उनीहरुमध्ये दिलिपको अवस्था गम्भिर रहेको बताइएको छ ।
पहिरोले स्थानीय जीतबहादुरको बंगुर, बाख्रा र हास पालेको कृषि फर्म र नजिकै रहेको एक घर समेत बगाएको छ ।



































