१३ भदौ, गोरखा । भीमसेन थापा गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष नारायण श्रेष्ठले ठेक्का लिएको वेनिघाट आरुघाट सडक स्तरोन्नतीको काम अलपत्र छ । सो खण्ड अन्तरगतको लापुवेशीस्थित पहिरो गएको स्थानमा नयाँ ट्रयाक खोल्ने र जाली भर्ने कामको जिम्मा लिएका उनले काममा चरम लापरवाही गरेको देखिन्छ ।
गत असारमा काम सक्ने गरी २०८० साल चैत्र ६ गते श्रेष्ठ प्रोपराइटर रहेको सुसान निर्माण सेवासँग गोरखा सडक योजनाले ठेक्का सम्झौता गरेको थियो । तर म्याद नाघिसक्दा समेत हालसम्म कामको प्रगति १७ प्रतिशत मात्र रहेको कार्यालयका इन्जिनियर दिपक सुनारले बताए । ‘त्यहाँ ठुलै पहिरो गएर हालसम्म सडक अवरुद्ध छ,’ उनले भने, ‘त्यही सडकभन्दा थोरै माथि करिव ६० मिटर नयाँ ट्रयाक खन्ने र केही ठाउँमा ढलान गरेर ग्याविन वाल लगाउने काम हो तर अहिलेसम्म जाली भर्ने काम बाहेक केही भएको छैन ।’
एक हप्तामा ट्रयाक खन्ने काम सकिने भएपनि बिभिन्न वहाना बनाएर ठेकेदारले काम नगरेको उनको भनाइ छ । ‘बर्खामा समस्या होला भनेर झन् अगाडी नै ठेक्का निकालेको मेसिन बिग्रिएको बहाना बनाएर ठेकेदारले काम नै गरेन,’ उनले भने । हालसम्म ट्रयाक खन्ने काम समेत सुरु नगरेको बताउँदै उनले थपे, ‘सम्झौता अवधि सकियो, म्याद थपका लागि अहिले निवेदन दिएको छ ।’ ठेक्का सम्झौता रकम ९४ लाख ५१ हजार रहेको उनले जानकारी गराए ।
यता ठेक्काको जिम्मा लिएका श्रेष्ठले ब्रेकर बिग्रिएका कारण समस्या भएको बताए । ‘एक त ठाउँ पनि समस्या छ त्यहाँ, अर्काे ब्रेकर बिग्रिएर काम गर्न पाइएन,’ उनले भने । जाली भर्ने काम सकिएको र कटिङ र ढलानको काम बाँकी रहेको उनले जानकारी गराए । दुई महिनादेखि मेसिन साइडमै रहेको बताउँदै उनले भने, ‘ब्रेकर भोलि बनाउन लान्छौ, बनेर आएपछि केही दिनमै काम सुरु हुन्छ ।’
ठेकेदारको लापरवाहीका कारण पहिरोले अवरुद्ध सो सडकखण्ड हालसम्म संचालनमा आउन सकेको छैन । यातायातका सवारी आउजाउ नहुदाँ स्थानीयले सास्ती भोग्नु परेको छ ।



































