२८ भदौ, गोरखा । जिल्ला सदरमुकामको हरमटारीचोकदेखि बसपार्कसम्मको दुरी मुश्किलले एक किलोमिटर होला । तर त्यही दुरी ट्याक्सीमा यात्रा गर्दा तीन सय रुपैया तिनुपर्छ । केही दिन अघि हरमटारीबाट ट्याक्सी चढेर बसपार्क पुगेका एक यात्रीले तीन सय रुपैया भाडा तिर्नु परेको गुनासो गरे ।
यता बिरेन्चोकबाट ट्याक्सी चढेर छेपेटार जाँदा १५ सय रुपैया भाडा लिएको अर्का यात्रुले सुनाइन् । दुरीका हिसावले सात किलोमिटरभन्दा कम भएपनि भाडा निकै महँगो लिएको उनले गुनासो गरिन् । यी केही उदाहरण मात्र हुन् । जिल्लामा चल्ने ट्याक्सीहरुको भाडादर निकै महँगो छ । ट्याक्सी व्यवसायी आफैले मनपरी भाडादर कायम गर्दै आएका छन् । तर प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहेको भाडा निर्धारण समिति भने निष्कृय छ ।
२०७४ सालदेखि यता समितिको बैठक बसको छैन । ट्याक्सी व्यवसायीले आफूखुशी भाडादर बढाउँदै महँगो भाडा असुल गरिरहेका छन् ।
जिल्लामा ट्याक्सी सेवा दिइरहेको गोरखा मनकामना यातायात सेवा प्रालिले भने गण्डकी प्रदेश सरकारले २०७८ सालमा गरेको भाडा समायोजनलाई आधार मानेर आफू्हरुले भाडादर कायम गरेको जनाएको छ । तर प्रालिले कायम गरेको भाडादर गण्डकी प्रदेश सरकारले तय गरेको मापदण्डभन्दा महँगो रहेको पाइएको छ ।
प्रदेशले गरेको भाडा समायोजन अनुसार १५ किमि भित्र यात्रा गर्दा सुरुवाती २०० मिटर सम्मको रु. ८० र त्यसपछि प्रति २०० मिटर बराबर रु. १० रुपैया कायम गरिएको छ । १५ किमि भन्दा बढीको दुरीमा भने प्रति किमि ३७ रुपैया ५० पैसाका दरले भाडा लिन पाउने व्यवस्था गरिएको छ । सो कुरा यातायात व्यवस्था कार्यालय तनहूँका अधिकृत बिष्णुबहादुर क्षेत्रीले पनि बताए ।
तर जिल्लाको ट्याक्सी भाडादर भने प्रदेशले समायोजन गरेको भन्दा बढी महँगो छ ।
उदाहरणका लागि प्रालिले गोरखा बसपार्कदेखि सतिपिपलसम्मको (कुल ४ किमि) भाडा ३५० रुपैया निर्धारण गरेको छ । प्रदेशको भाडा समायोजन अनुसार उक्त दुरीको भाडा बढीमा २६० रुपैया पर्छ । तर मापदण्ड विपरित प्रालिले आफूखुशी भाडादर कायम गर्दै यात्रु ठग्दै आएको छ ।
यता गोरखा बसपार्कदेखि आँबुखैरेनीसम्मको २४ किलोमिटर दुरीको भाडा प्रालिले १६ सय रुपैया लिदैँ आएको छ । प्रदेशले बनाएको नियम अनुसार १५ किलोमिटरभन्दा माथिको दुरीमा प्रति किमि ३७ रुपैया ५० पैसाका दरले भाडा लिन पाउने व्यवस्था छ । यो भनेको गोरखा आँवुखैरेनीसम्मको भाडा ९ सय रुपैया हुनुपर्छ । तर प्रालिले यहाँ पनि यात्रुसँग महँगो भाडा असुल गर्दै आएको छ । जिल्लाका अधिकांश रुटमा ट्याक्सीहरुले महँगो भाडा लिने गरेका छन् ।
अनिवार्य रुपमा भाडादर टाँस गर्नुपर्ने नियमलाई पनि ट्याक्सी व्यवसायीहरुले वेवास्ता गर्दै आएका छन् । कुनै पनि ट्याक्सीमा मिटर जडान भएको छैन । मान्छे अनुसार मनपरी भाडा लिने गरेको एक व्यक्तिले बताए । ‘भाडादर नटास्ने अनि मान्छे अनुसार मनपरी भाडा लिने गर्छन्,’ उनले भने, ‘साँझ पर्न थालेपछि भाडा झन् बढाउँदै लान्छन् ।’
मनपरी भाडा असुल गर्दै यात्रु ठग्दा समेत नियमन निकाय भने मौन छ । भाडा निर्धारण समितिका संयोजक समेत रहेको प्रजिअ भोला दाहालले पनि लामो समयदेखि बैठक बस्न नसकेको स्वीकार गरे । छिट्टै बैठक बसेर उचित भाडादर निर्धारण गरिने उनले बताए ।
ट्याक्सी सेवा संचालन गर्दै आएको गोरखा मनकामना यातायात सेवा प्रालिले भने यातायात व्यवस्था ऐन, भाडा निर्धारण समितिले तय गरेको भाडादर र एम्वुलेन्सको भाडादरको आधारमा ट्याक्सीको भाडादर कायम गर्दै आएको जनाएको छ । ‘सवारी व्यवस्था ऐन अन्तरगत नै हामीले भाडा निर्धारण गर्दै आएका छौ,’ प्रालिका अध्यक्ष सुरेन लामिछानेले भने, ‘कालोपत्रे भएका कच्चि सडकहरुको भाडा घटाएका पनि छौ ।’ गण्डकी प्रदेशको कास्की जिल्ला वाहेक अन्य जिल्लामा मिटर जडान अनिवार्य नरहेको उनले जिकिर गरे ।
यता जिल्ला ट्राफिक इन्चार्ज शिवप्रसाद पाठकले बढी भाडा लिएको गुनासो आएमा कारवाही गर्ने बताए । ‘भाडादर चर्काे भएको भन्दै प्रशासनमा पटक पटक गुनासो गर्दा पनि बैठक बसेर भाडा समायोजन हुन सकेको छैन,’ उनले भने, ‘भाडा बढी लियो भनेर हामीलाई खवर गर्दैनन्, त्यस्तो जानकारी आएमा हामी कारवाही गर्छाै ।’



































