५ असोज, गोरखा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चामलको मूल्यमा छुट दिने भएको छ । शुक्रवारदेखि केजीमा पाँच रुपैयाका दरले छुट दिइने कार्यालयका सूचना अधिकारी शिव सुनारले बताए ।
‘त्यो दिनदेखि सहुलियत मूल्यको खाद्य पसल संचालन हुन्छ,’ उनले भने, ‘त्यही अन्तरगत प्रति केजी पाँच रुपैया छुट दिन लागेका हौ ।’ कार्यालयले जिरा स्टिम मसिनो र सोना मंसुली चामल विक्री वितरण गर्दै आएको छ । जिरा स्टिमको प्रति केजी ९० र सोना मंसुलीको ६६ रुपैया मूल्य कायम भएपनि शुक्रवारबाट उक्त मूल्यमा पाँच रुपैया छुट पाइने कार्यालयले जनाएको छ ।
छुटसँगै स्टिम जिरा चामलको २५ केजी बोराको २ हजार १२५ रुपैयाँ पर्ने बताइएको छ । यता सेना मंसुलीको २५ केजी बोराको १ हजार ५२५ रुपैया पर्ने कार्यालयले जनाएको छ । कार्यालयमा हाल ३५० क्विन्टल सोना मंसुली १ सय क्विन्टल स्टिम जिरा मसिनो चामल स्टक रहेको सुनारले बताए । कम्पनीले प्रतिव्यक्ति दुई बोराको दरले खाद्यान्न उपलब्ध गराउने छ ।
सहुलियत मुल्यको पसल माघ ३ गतेसम्म सञ्चालन हुने बताइएको छ । कम्पनीले हरेक वर्षको दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ ।



































