उमेरले नेटो काटेपछि जीर्ण शरीरको छाला चाउरी परे । दुवै आँखाको दृष्टि गुम्यो । हात खुट्टाले खासै भर पाउन छाडे । ७९ वसन्त पार गरिसकेका चर्चित गायक लालबहादुर गन्धर्वको सारङ्गी मोह भने आज पनि उस्तै छ । गोरखा घ्याम्पेशालको गाउँबस्तीमा ९ बर्षको कलिलै उमेरदेखि सारङ्गी रेट्दै कर्खा गाउँदै हिडेका उनी अहिले पनि पुख्र्यौली पेशालाई अगाध श्रद्धा गर्छन् । त्यसैले बुढ्यौलीबयमा पनि उनका हातहरु अझै थाकेका छैनन्, कर्खा गाउन गला गलेका छैनन् ।
दिनको एक पटक सारङ्गी रेट्दै कर्खा गुनगुनाउन नपाए उनको मन मान्दैन । सारङ्गीसँग उनको छुट्टै लगाव छ । नहोस् पनि किन ? त्यही सारङ्गी रेटेर उनले दश छोराछोरी हुर्काए, बिहेदान गरे । अहिले पनि त्यही पेशाले जहानपरिवार पालिरहेका छन् ।
बाबुबाजेको पुख्र्याेली पेशालाई उनले आफूबाट अलग राख्न सकेनन् । उनलाई सारङ्गी रेट्न र कर्खा कथ्न सिकाउने गुरु आफ्नै बुवा हुन् । सारङ्गी बजाउँदै उनी नपुगेको ठाउँ बिरलै होला । ‘सुरुमा बुवासँगै बजाउँदै हिड्थे,’ उनले भने, ‘पछि एक्लै हिड्न थाले ।’
सारङ्गी बजाउने कलाले उनलाई रेडियो नेपालमा जोडिने अवसर दिलायो । २०२२ सालमा रेडियो नेपालमा जागिरे भए । ‘त्यो बेला गन्धर्वहरुलाई राजा महेन्द्रले बोलाउनुभएको छ भन्दै घरमै पुलिस लिन आए,’ उनी सम्झन्छन्, ‘राजाले किन बोलायो भन्दै अरु डराएर गएनन्, गोरखाबाट हामी पाँच जना मात्र गयौ ।’ अन्य जिल्लाबाट पनि गन्धर्व भेला गराएर भएको छनोटमा आफू परेको उनले बताए । उनले भने, ‘देशभरबाट हामी करिव ३० जना थियौँ । तीन महिना तालिम पनि दियो । छनोटमा झलकमान गन्धर्व र म मात्र प¥यौ ।’
भूमीसुधार खुलाई पाम झट्ट ।
कोल्टे पाथी बेचेर चौपट्ट ।।
हजारमुरी धान हुने एउटा घोडा चढ्ने ।
गरिवले जग्गा मागे शरीर शरण पर्ने ।।
काठमाडौलाई पचास रोपनी पहाडलाई असी ।
गरिव जनता खुशी हुन्थे जमिन बाँडेपछि ।।
साहुले धन आसामी लाउदैन ।
आफूखुशी व्याज लाउन पाउदैन ।।
खरबारीको छेउ, याक चुरोट तिमी खाउँ, गैँडा मलाई देउ ।।
राजा महेन्द्रको अगाडि उनले भूमि सुधार सम्बन्धी यही गीत गाएर रेडियो नेपालमा जागिर पाएका थिए । त्यति बेला उनको तलव तीन सय रुपैया थियो । पाँच बर्षपछि रेडियोको जागिर छाडेर उनी नेपाली सेनामा जोडिए । त्यो बेला तलव ९० रुपैया रहेको उनी सम्झन्छन् ।

दुई बर्षपछि सेनाको जागिर पनि छाडेर उनी आफ्नो जन्मथलो गोरखा फर्किए । ‘सुब्दारसापले सामाखुशीमा एक रोपनी जग्गा दिन्छु जागिर नछोड भन्नुभएको थियो तर मलाई मन लागेन । आफ्नै जन्मथलो फर्किन मन लागेर गोरखा आए,’ उनले सुनाए ।
गोरखा फर्केर पुनः पुख्र्याैली पेशालाई निरन्तरता दिए ।
पुख्र्याेली थलो गोरखा बजारको सतिपिपल भएपनि बुवाको पालादेखि घ्याम्पेशाल बस्न थालेको उनी बताउँछन् । ‘त्यो बेला गाडी चल्दैनथ्यो, सारङ्गी बजाएर जम्मा भएको मकै, कोदो र धान बजार ल्याउन समस्या भयो भनेर बजारको जग्गा बेचेर बुवाहरु घ्याम्पेशाल आएर बस्नुभयो,’ उनले भने । रेडियो नेपालमा हुँदा उनले नौ वटा गीत समेत गाएका छन् ।
नब्बे सालको महाभूकम्प, पृथ्वीनारायण शाहको जीवनी, जङ्गबहादुरको सत्ता उत्थान, विश्वयुद्ध, डाँफेचरी लगायतका कर्खा, सवाई उनले रेडियो नेपालबाट गायका थिए । यहीबाट उनले राष्ट्रिय स्तरको चर्चा समेत बटुल्न सफल भएका थिए । २०७६ सालमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा ‘लालबहादुर गन्धर्व सारङ्गी साँझ’ समेत भएको थियो । धर्मराज थापाले गाएको ‘हाम्रो तेञ्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ बोलको गीत प्रायः उनी गाउने गर्थे ।
तर अहिले बुढ्यौलीपनले छोएसँगै उनलाई स्वरले पनि साथ दिन छाडेको छ । आँखाको दृष्टि गुमेका कारण हिडडुल गर्न उनलाई सहारा चाहिन्छ । तर उनले बजाउने सारङ्गीको सुर तालमा भने कुनै कमी छैन । आफू मरेपछि यो पेशा कसले धान्छ ? भन्ने चिन्ता पनि उनलाई छ । आफूहरु मणिराम गाइनेको नाती पुस्ता रहेको उनी बताउँछन् ।
उनका नौ छोराहरुमध्ये तीन जनाले बुवाकै पेशा अंगालेका छन् । बाँकी अन्य रोजगारीमा संलग्न छन् । छोरामध्येका एक ठाकुर गन्धर्व सारङ्गी बजाउन जानेपनि पुख्र्याैली पेशालाई अंगाल्न नसकेको बताउँछन् । भन्छन्, ‘आफ्नै समुदायमा बसेको भए यही पेशातिर लागिन्थ्यो होला, तर यता आएपछि खासै मन गएन ।’ पछिल्लो समय गन्धर्वका पुराना गीतहरु गाउने मान्छे भेट्न मुस्किल रहेको उनी बताउँछन् । आफ्ना बुवा लालबहादुरसँग रहेको ज्ञान र सिप गन्धर्व इतिहासको एक दस्तावेज बन्न सक्ने उनी बताउँछन् ।



































