गोरखा नगरपालिकाले चालु आर्थिक बर्ष २०८१/८२ लाई भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरिसकेको छ । भ्रमण बर्ष सफल बनाउन बिभिन्न तयारीहरु भइरहेका छन् ।
नगरभित्रका धार्मिक एवं पर्यटकीय स्थलहरुको पहिचान गर्ने काम भइसकेको नगर प्रमुख कृष्ण रानाले बताए । ‘५६ वटा धार्मिक एवं पर्यटकीय स्थलको पहिचान गरेका छौ,’ उनले भने, ‘त्यसको बुकलेट पनि तयार हुदैँ छ ।’ नगर आउने पर्यटकलाई बुकलेट उपलब्ध गराएर सो क्षेत्रको भ्रमणका लागि प्रोत्साहन गरिने उनले जानकारी दिए । उनका अनुसार ती स्थानहरुको परिचय र संक्षिप्त विविरणसहितको साइनबोर्ड राख्ने काम पनि अघि बढीसकेको छ । ‘त्यो ठाउँसम्मको दुरी कति छ ? पैदल जाँदा र गाडीमा जादा कति समय लाग्छ ? र त्यो ठाउँको ऐतिहासिक र धार्मिक महत्व के छ ? भन्ने कुराको संक्षिप्त जानकारी त्यो साइनबोर्डमा हुन्छ,’ उनले भने । बसपार्कलाई केन्द्रविन्दु बनाएर ती स्थलहरुको दुरी निर्धारण गरिएको उनले जानकारी दिए ।
उनका अनुसार भ्रमण बर्षलाई लक्षित गरी आँवखैरेनीदेखि गोरखा बजारसम्म क्यू आर कोड सहितको ‘स्ट्रिट नम्वर’ राख्ने नगरपालिकाले तयारी थालिएको छ । गोरखा आँवुखैरेनी सडकखण्ड अन्तरगत जोडिने शाखा बाटोहरुमा ‘स्ट्रिट नम्वर’ राखिने बताउँदै मेयर रानाले भने, ‘त्यहाँ रहेको क्यू आर कोड स्क्यान गरेपछि त्यो बाटोबाट पुग्ने ठाउँ र त्यस ठाउँको महत्व लगायतका विवरण आउछ ।’
बसपार्क आसपास सूचना केन्द्र स्थापनाको तयारी पनि थालिएको छ । उक्त केन्द्रबाट पर्यटकलाई नगरभित्रका घुम्ने ठाउँहरुको विवरण उपलब्ध गराइने छ ।
कुहिरेभिर डाँडामा टाढैबाट देख्न सकिने गरि गोरखा जिल्लाको नक्सा निर्माण गरिने बताइएको छ । रातको समयमा पनि देख्न सकिने गरि वत्ति जडान हुने रानाले बताए । १५ लाख बजेट विनियोजन भएर निर्माण प्रक्रिया अघि बढीसकेको नगरपालिकाले जनाएको छ ।
भ्रमण बर्षमा पर्यटन मेलाको आयोजना गरिने बताइएको छ । होम स्टे विस्तार गर्दै लोकल रक्सीलाई ब्राण्डिङ गर्ने योजना समेत रहेको रानाले जानकारी दिए ।
नगरपालिका आउने पर्यटकलाई नगर भित्र बसोवास गर्ने बिभिन्न जातजातीका संस्कृतीहरु देखाउने योजना पनि रहेको उनले बताए । भ्रमण बर्ष सफल बनाउन यही मंसिर ५ र ६ गते जिल्लामा वृहत छलफल कार्यक्रम राखिएको छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, टानका अध्यक्ष, पर्यटन व्यवसायी लगायत जिल्लाका सरोकारवालाहरुको सहभागीता रहने उक्त कार्यक्रमले गोरखा पर्यटन घोषणापत्र निर्माण गर्ने बताइएको छ । समग्र जिल्लाको पर्यटन प्रवद्र्धनको बिषयमा उक्त छलफल केन्द्रीत रहने भनिएको छ ।
मेयर रानाका अनुसार बजार क्षेत्रको सुन्दरताका लागि फुटपाथलाई व्यवस्थित गर्ने काम पनि अघि बढेको छ । प्राविधिक अध्ययन भइसकेको र केही दिनमै ठेक्का भएर काम सुरु हुने उनले जानकारी दिए । उनका अनुसार खोलखोलेदेखि गोरखा बसपार्कसम्म दुवै तर्फ व्यवस्थित फुटपाथ बन्ने छ । हाल भएको फुटपाथलाई हटाएर नयाँ बनाइने र सडक पनि चौडा गरिने उनको भनाइ छ ।
खोलखोलेदेखि हरमटारीचोकसम्मको फुटपाथ सडक डिभिजन कार्यालय दमौलीले बनाउने भएको छ । हरमटारीदेखि बसपार्कसम्मको फुटपाथ गोरखा सडक योजना र नगरपालिका मिलेर बनाउने बताइएको छ । एक ‘साइड’ को फुटपाथ गोरखा सडक योजना र अर्काे साइडको नगरपालिकाले बनाउने मेयर रानाले बताए । ‘अहिले भइरहेको नाली सबै हट्छ, सडक पनि केही चौडा बनाउछौ र एउटै लेवलको आधुनिक खालको रंगिन फुटपाथ निर्माण हुन्छ,’ उनले भने । फुटपाथ निर्माणमा बाधा पुग्ने गरी बनाइएको सेफ्टि ट्यांकीहरु घरधनी आफैले अन्यत्र व्यवस्थापन गर्ने सहमति समेत भइसकेको उनले जानकारी दिए । पार्किङलाई व्यवस्थित गर्न खोलखोलेमा करिव एक सय वटा गाडी पार्किङ गर्न मिल्ने बसपार्क निर्माणको काम समेत भइरहेको उनले बताए ।
शहरी नगर बिकाससँगको सहकार्यमा यो बर्ष पर्यटन गुरुयोजना तयार गरिने भएको छ । भ्रमण बर्ष सफल पार्न बिज्ञ सहित जिल्लाका सरोकारवालाहरुसँग आवश्यक छलफल समेत भइरहेको मेयर रानाले जानकारी गराए । पर्यटकीय शहरसँग सहकार्यका लागि पर्यटकीय संजाल बनाउने योजना नगरपालिकाको छ । भ्रमण बर्षका लागि स्टिकर र ब्याच निर्माण भइसकेको बताइएको छ । भ्रमण बर्षमा आउने पर्यटकका लागि बिशेष सहुलियतको समेत व्यवस्था हुने बताइएको छ । भ्रमण बर्षको लागि ‘गोरखा जहाँ इतिहास जिवित छ’ भन्ने नारा तय गरिएको छ ।
खटिए स्थानीय पथ प्रदर्शक
पर्यटकलाई लक्षित गरी गोरखा नगरपालिकामा स्थानीय पथ प्रदर्शक (लोकल टुरिष्ट गाइड)हरु खटिएका छन् । मंगलवारबाट औपचारिक रुपमा उनीहरु सेवामा खटिएका हुन् । भ्रमण बर्षलाई लक्षित गरी गोरखा नगरपालिकाले केही समयअघि उनीहरुलाई तालिम दिएको थियो । ४० जनाले तालिम लिएका थिए । त्यसमध्ये अहिले २० जना सेवामा खटिएका छन् ।

सेवाका लागि उनीहरुले सम्पर्क कार्यालय समेत स्थापना गरेका छन् । गोरखा दरवार नजिकै स्थापना भएको उक्त कार्यालयको मंगलवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले कार्यालयको उद्घाटन गरेका हुन् ।
‘गाइड चाहिएमा पर्यटकहरुले हाम्रो यो कार्यालयमा जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुन्छ,’ स्थानीय पथ प्रदर्शक समिति अध्यक्ष थिरभक्त श्रेष्ठले भने, ‘उहाँहरुको आवश्यकता अनुसार हामी गाइड उपलब्ध गराउँछौ ।’ पर्यटकका लागि तीन वटा प्याकेज बनाइएको जानकारी गराउँदै उनले थपे, ‘एउटा प्याकेज तीन घण्टाको छ, अरु एक दिन र दुई दिनको छ । पर्यटकले आफ्नो इच्छा अनुसार प्याकेज छान्न सक्नुहुन्छ ।’
समितिले प्याकेज अनुसार शुल्क पनि निर्धारण गरेको छ । तीन घण्टाको प्याकेजका लागि एक हजार, एक दिनको दुई हजार र दुई दिनको पाँच हजार शुल्क निर्धारण गरिएको समिति अध्यक्ष श्रेष्ठले जानकारी दिए । पर्यटकको संख्या अनुसार रकम फरक पर्ने उनले बताए । पर्यटकबाट उठेको रकमको दश प्रतिशत संस्थामा राखिने बताइएको छ ।
पथ प्रदर्शक चाहने पर्यटकलाई सेवा दिइने बताउँदै श्रेष्ठले भने, ‘टुरको गाडी अथवा कोही पर्यटक आउनुभयो भने हामी गाइड चाहिन्छ भनेर सोध्छौ । उहाँहरुले चाहिन्छ भन्नुभयो भने मात्र हामी सेवा दिन्छौ, जवरजस्ती गर्दैनौ ।’ पर्यटकलाई पर्यटकीय स्थलको अवलोकनसँगै त्यसको धार्मिक र ऐतिहासिक महत्वबारे पनि जानकारी गराइने उनले बताए ।
उनका अनुसार पथ प्रदर्शकलाई थप दक्ष बनाउन धार्मिक एवं पर्यटकीय स्थलको इतिहासबारे पढाउने काम समेत भइरहेको छ । पुरातत्व बिभागद्धारा प्रकाशित सम्बन्धित स्थलको इतिहास र महत्व उल्लेख भएका पुस्तकहरु पनि अध्ययन गर्न लगाइएको छ । पर्यटकलाई पर्यटकीय स्थल घुमाउनुको साथै गोरखाको इतिहास बुझाउने काम पनि आफूहरुले गर्ने श्रेष्ठले बताए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले बसपार्क आसपास पनि सम्पर्क कार्यालय स्थापना गर्न सुझाव दिएका थिए ।



































