जिल्लाका करिव ६ हजार कृषकहरुको पोषण सुधार गर्ने उदेश्यले खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्तरगत दोस्रो चरणको कार्यक्रम लागू भएको छ । शहिद लखन र आरुघाट गाउँपालिकाका किसानलाई लक्षित कार्यक्रम लागू भएको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाइ गोरखाले जनाएको छ ।
विहीवार जिल्लाका सरोकारवालाहरुलाई आयोजनाबारे जानकारी गराइएको छ । कार्यालयका कृषि अधिकृत अनुप नैनावस्तीले भूकम्प र बाढी पीडित, खाद्य असुरक्षित, विपन्न, सिमान्तकृत र महिलालाई लक्षित गरी कार्यक्रम लागू भएको बताए । उत्पादनमा वृद्धि गरी खाद्य सुरक्षा बढाउँदै पोषणको अवस्थालाई सुधार गर्ने लक्ष्य आयोजनाको रहेको उनले जानकारी दिए ।
‘दोस्रो चरणको कार्यक्रम अन्तरगत अहिले समूह गठन र दर्ता प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘कृषक, पोषण र पशुपालनतर्फ छुट्टाछुट्टै समूह गठन गर्छाै ।’
शहिद लखनमा १ सय ५० र आरुघाटमा १ सय ३७ गरी कुल २ सय ८७ समूह गठन हुने उनले बताए । उनका अनुसार शहिद लखनमा कृषितर्फ ४१, पशुपालनतर्फ ५९ र पोषणतर्फ ५० वटा समूह गठन हुने छन् भने आरुघाटमा कृषितर्फ ५०, पशुपालनतर्फ ४३ र पोषणतर्फ ४४ समूह गठन हुनेछन् । पुशपालनतर्फ पनि डेरी, बाख्रा र कुखुराका लागि छुट्टाछुट्टै समूह गठन हुने उनको भनाइ छ ।
आयोजना अन्तरगत साना सिंचाई, मेसिनरी तथा औजार उपकरण सहयोग, मल तथा विउ वितरण, कृषक पाठशाला स्थापना तथा संचालन, बाख्रा पालन प्रवद्र्धन, दुग्ध उत्पादन प्रवद्र्धन, कुखुरा पालन लगायतका कार्यक्रम संचालन हुने आयोजना क्लष्टर इकाइ गोरखा प्रमुख होमनाथ लम्सालले बताए । लक्षित समूहले ८५ प्रतिशतसम्म अनुदान पाउने उनले जानकारी दिए ।
उनका अनुसार आर्थिक बर्ष २०७५÷७६ देखि २०८०÷८१ सम्म गोरखाको बारपाक र गण्डकी गाउँपालिका र धादिङको बेनिघाट रोराङ र गजुरी गाउँपालिकामा आयोजना अन्तरगतको पहिलो चरणको कार्यक्रम लागू भएको थियो ।
गोरखाको आरुघाट र शहिद लखनसँगै धादिङको सिद्धलेक र गल्छी गाउँपालिकालाई समेटेर दोस्रो चरणको कार्यक्रम लागू गरिएको उनले जानकारी दिए । ‘२०८० साल मंसिर महिनाबाट आयोजनाको दोस्रो चरणको कार्यक्रम लागू भइसक्यो,’ उनले भने, ‘२०८४ असारसम्म यो कार्यक्रम चल्छ ।’
पाँच बर्ष मुनिका बालबालिका, किशोरी, गर्भवती महिला र स्तनपान गराइरहेका आमाहरु भएका घरधुरी खाद्य तथा पोषणको जोखिम पर्ने सम्भावना बढी रहेको कार्यालयले जनाएको छ । कृषि क्षेत्रमा उत्पादकत्व बढाएर पोषण जोखिम न्यूनिकरण गर्ने उदेश्य आयोजनाको रहेको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाको प्रमुख अतिथ्यतामा अभिमुखिकरण एवं बैठक सम्पन्न भएको थियो ।



































