‘शहिदको बलिदानबाट प्राप्त भएको व्यवस्था जोखिममा छ । सडकमा त्यसको बिरुद्धमा मुर्दावादको नारा लागिरहेको छ । सिंहदरवारमा फोहोरको डंगुर भएको छ । त्यो डंगुर निर्माण गर्नमा हामीले काँध थापेर माथि पठाएको नेताहरुको पनि मनग्य योगदान छ । त्यो फोहोर सफा गर्न समाजमा एउटा ठुलै अभियान आवश्यक छ । यो व्यवस्थालाई संस्थागत गर्न अभियान संचालन गर्नु जरुरी छ ।’
लेखक एवं वाम बिश्लेषक खगेन्द्र संग्रौलाले अहिलेको राजनीतिक परिवेशलाई यसरी साहित्यिक व्यंग्य गरे । जनयुद्धका पहिलो शहिद दिलबहादुर रम्तेलको २९ औ स्मृति दिवसको अवसरमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित प्रगतिशील साहित्यिक गोष्ठीमा सहभागी उनले गणतन्त्रको संस्थागत बिकास गर्न आग्रह गरे । गणतन्त्र बिरुद्ध सडकमा गर्जन उत्पन्न हुन थालेको समेत उनले सुनाए । भने, ‘पञ्चायतकालमा कल्पना या मनमा राजाको बारे कुनै टिप्पणी गर्दा पुलिसले समातेर मार्लाकी भनेर डर लाग्थ्यो, अहिले त्यही पञ्चायतका अवशेषहरु सडकमा निस्केर गणतन्त्र मुर्दावाद, संघियता मुर्दावाद भनिरहेको छ, धर्म निरपेक्षाता मुर्दावाद भनिरेको छ ।’
जनयुद्धकालमा देशका बिभिन्न ठाउँमा शहिद द्वार र शहिद स्मारक बनेपनि त्यसको संरक्षण हुन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘जनयुद्ध कालमा देशका बिभिन्न भागमा ठाउँठाउँमा शहिद द्वार र शहिद स्मारक खडा गरिएका हुन्थे,’ उनले भने, ‘राजनीति गाउँबाट काठमाडौं पस्यो, नेता काठमाडौंबाट सिंहदरवार पसे, तर गाउँगाउँमा देखिएका शहिद स्मारक र शहिद द्वारको संरक्षण भएनन् ।’
गोष्ठीमा सहभागी लेखक सोमत घिमिरेले जनयुद्धबाट नेपाली राजनीतिको धार परिवर्तन गरेको बताए । गोष्ठीमा माओवादी नेता लेखनाथ न्यौपानेद्धारा प्रस्तुत जनयुद्ध, बलिदान र समाज रुपान्तरण बिषयक कार्यपत्रमाथि टिप्पणी गर्दै उनले सिंहदरवारमा पोको पारेर राखिएको राजनीतिक परिवर्तनलाई सुलिकोटसम्म ल्याइदिने काम जनयुद्धले गरेको धारणा व्यक्त गरे । ‘जनयुद्धअघि महेन्द्रका चश्माबाट मधेस अर्कै थियो, त्यसलाई जनयुद्धले भत्कायो,’ उनले भने, ‘जनयुद्धले पहिचानको मुद्दालाई स्थापित ग¥यो, सांस्कृतिक बिविधतालाई पहिलो पटक स्वीकार ग¥यो ।’ जनतालाई सार्वभौमसत्ता र मालिक बनाउने लडाइ अझै बाँकी रहेको उनले सुनाए ।
अर्का लेखक युग पाठकले क्रमभंग र छलाङको सिद्धान्त स्मरण गराए । ‘क्रमभंगपछि पक्का पनि विपत्ति आउँछ, विपत्तिसँग लडेपछि अनि बल्ल छलाङ हुन्छ,’ जनयुद्धको प्रसँगलाई जोडेर उनले भने ।
लेखक रामकुमार भण्डारीले जनयुद्धका शहिद र वेपत्ता परिवारको अहिलेको अवस्थाबारे चिन्तन गर्नुपर्ने अभिव्यक्ति राखे । शहिद र वेपत्ताका मुद्दाहरुलाई स्थापित गर्न नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरे । पटक पटक माओवादीकै नेतृत्वमा सरकार बन्दा पनि शहिद र वेपत्ताका मुद्दाहरुलाई स्थापित गर्न नसकिएको उनले बताए ।
बारपाक सुलिकोट गाउँपालिकाको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रममा २९ जना शहिद परिवारलाई सम्मान समेत गरिएको छ । जनही दश हजार नगद सहित दोसल्ला ओडाएर सम्मान गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए ।
कार्यक्रमकै अवसरमा बलिदानी जगमा आजको परिवर्तन बिषयक अन्तर मावि वक्तृत्वकला प्रतियोगिता समेत भएको छ । प्रतियोगितामा शैलपुत्री माविका यूनिक पनेरु पहिलो, अन्तरज्योती माविकी दिपिका सुनार दोस्रो र माझथर माविकी एन्जिला सुनार तेस्रो भएकी छन् । उनीहरुलाई नगद पुरस्कार दिइएको पालिकाले जनाएको छ ।
फागुन १४ लाई माओवादीले बलिदानी दिवसको रुपमा पनि मनाउँदै आएको छ । सप्ताहव्यापी रुपमा दिवस मनाइने बताइएको छ ।



































