दुई बर्षअघिसम्म पालुङटार नगरपालिका–७ च्याङ्लीटारका स्थानीयलाई खेतमा सिंचाइ गर्न निकै समस्या थियो । अस्थायी रुपमा बनाइएको बाँध प्याउते खोलाले भत्काएपछि कुलोमा पानी चढ्दैनथ्यो । सोही ठाँउमा अहिले पक्की बाँध बनेको छ । साथमा पक्की नहर पनि । अहिले खत्रिटार र जगतेटारका स्थानीयलाई खेत सिञ्चित गर्न कुनै समस्या छैन ।
च्याङ्लीटार सिंचाई आयोजना अन्तरगत पक्की बाँध र नहर बनेको हो । तिर्लाङ र माझगैरा गरी दुई प्रणालीमा बिभाजन गरेर योजना अघि बढाइएको जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालयले जनाएको छ । ‘गत बर्ष यो योजनाका लागि ७० लाख रकम विनियोजन भएको थियो,’ कार्यालय प्रमुख मिलन पौडेलले भने, ‘त्यसले दुई वटा पक्की बाँध र केही मिटर पक्की नहर बनायौ ।’
तिर्लाङतर्फ २० मिटर पक्की बाँध र ६० मिटर पक्की नहर बनेको उनले बताए । त्यस्तै एक किलोमिटर कच्ची नहर र ४० मिटर तटवन्ध निर्माण गरिएको उनले जानकारी दिए । ‘करिव दुई किलोमिटर लामो नहर छ, क्रमश सबै पक्की बनाउँदै जान्छौ,’ उनले भने । यस नहरबाट करिव चार सय रोपनी क्षेत्रफल जमिन सिञ्चित हुने बताइएको छ ।
माझगैरा तर्फ पनि १५ मिटरको पक्की बाँध बनेको छ । करिव डेढ किलोमिटर लामो नहरमध्ये ४० मिटर पक्की बनिसकेको कार्यालयले जनाएको छ । ५७५ मिटर कच्ची नहर र ४० मिटर तटवन्ध समेत निर्माण भएको कार्यालय प्रमुख पौडेलले बताए । उक्त नहरबाट करिव दुई सय रोपनी खेत सिञ्चित हुने उनले जानकारी गराए ।
योजना निर्माणले सिंचाईमा निकै सहज भएको भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन् । ‘जाली हालेर खोलामा अस्थायी बाँध बनाइएको थियो, बाढीले लगेपछि कुलोमा पानी चढेको थिएन,’ उपभोक्ता समिति अध्यक्ष समेत रहेका हरिराम खत्रीले भने, ‘अहिले बाँध भत्काउला भन्नु पनि परेन, कुलोमा पानी नचढ्ला भन्ने पीर पनि भएन ।’
उक्त खेतमा दुई सिजन धान खेती सँगै मकै, गौ, लगायतका बाली लगाइने उनले जानकारी दिए । तर यो बर्ष पहिरोले नहर पुरिएकाले जुडी धान लगाउन नपाएको खत्रीले गुनासो गरे । ‘भदौ तिर पहिरो आएर कुलो पुरियो, कुलोमा पानी नछिरेर यो बर्ष जुडी धान लागउन पाइएन,’ उनले भने । पहिरो हटाएर नहर संचालन गरिदिन स्थानीयले आग्रह गरेका छन् ।
कार्यालयका प्रमुख पौडेलले यो बर्ष उक्त योजनाका लागि दश लाख रकम मात्र विनियोजन भएको बताए । ‘थप ४० लाख रकम माग गरेका छौ, आयो भने यो योजना सम्पन्न हुन्छ,’ उनले भने । उक्त योजनाबाट करिव एक सय घरधुरीका किसान लाभान्वित हुने उनको भनाइ छ ।
उक्त योजनाको केही दिन अघि गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले अनुगमन गरेका थिए । पहिरो हटाएर योजनाका लागि आवश्यक बजेट विनियोजन गरिदिन स्थानीयले माग गरेका छन् ।



































