वन क्षेत्रमा खेर गएका पातपतिङ्गरलाई स्थानीयको आम्दानीसँग जोड्न भीमसेन थापा गाउँपालिको बिशेष कार्यक्रम ल्याएको छ । डढेलो नियन्त्रणमा समेत सघाउ पुग्ने भन्दै ‘पातपतिङ्गर संकलन’ कार्यक्रम लागू गरिएको पालिकाले जनाएको छ ।
कार्यक्रम अन्तरगत सामुदायिक वन क्षेत्रका पातपतिङ्गर संकलन गर्नेलाई पालिकाले रकम उपलब्ध गराउने छ । प्रति केजी दुई रुपैयाका दरले रकम उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए । ‘व्यक्ति वा समूह जो कोहीले पनि सामुदायिक वनको पातपतिङ्गर संकलन गर्न पाउछन्,’ उनले भने, ‘त्यसका लागि सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति तथा वडा कार्यालयसँग समन्वय गर्नुपर्छ ।’
पातपतिङ्गर संकलनको जिम्मा कसलाई दिने ? भन्ने अधिकार सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिलाई रहने उनले जानकारी गराए । नेतृत्व भने सम्बन्धित वडा कार्यालयले गर्ने छ । ‘पातपतिङ्गर संकलन गर्न लगाउनेलाई सामुदायिक वन उपभोक्ता समिति आफैले रकम उपलब्ध गराउछ,’ अधिकारीले भने, ‘त्यसको रिपोर्ट समितिले पालिकालाई बुझाउँछ, अनि हाम्रो कर्मचारीले स्थलगत अनुगमन गरेपछि समितिले पालिकाबाट भुक्तानी पाउँछ ।’
उनका अनुसार पातपतिङ्गर संकलनका लागि प्रत्येक वडामा एउटा खाँडल बनाउने क्रम जारी छ । संकलित पातपतिङ्गर त्यही खाँडलमा राखेर प्राङ्गारिक मल बनाइने छ । उक्त मललाई सामुदायिक वनको आयआर्जनसँग जोड्न सकिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । ‘पातपतिङ्गरबाट बनेको मल बिक्री गर्ने जिम्मा सम्बन्धित सामुदायिक वनलाई नै हुन्छ र त्यो बेचेर आएको आम्दानी पनि उहाँहरुकै हुन्छ,’ उनले भने ।
उक्त कार्यक्रमले वन डढेलो नियन्त्रणसँगै स्थानीयको आयआर्जन र वन गोडमेलमा समेत सघाउ पुग्ने पालिकाको अपेक्षा छ ।



































