गोरखा नगरपालिका–१० छेवेटारस्थित महादेवटारीमा भेटिएको पुरातात्विक भग्नावशेषको अध्ययन थालिएको छ । अध्ययनका लागि विगत केही दिनदेखि पुरातत्व बिभागको टोली गोरखामा छ । गत शुक्रवारदेखि स्थलगत अध्ययन भइरहेको बिभागका नवराज अधिकारीले बताए ।
महादेवस्थान संरक्षण तथा बिकास समितिद्धारा गत बर्ष सो क्षेत्रमा लट्टेश्वर महादेव मन्दिर पुननिर्माण गर्ने क्रममा पुरातात्विक संरचनाको भग्नावशेष फेला परेको थियो । काम रोकेर समितिले पुरातत्व बिभागलाई खवर गरेको थियो । करिव एक बर्षपछि बिभागको टोलीले स्थलगत अध्ययन थालेको हो । भेटिएका भग्नावशेषको उद्धार उत्खनन गर्ने कार्य भइरहेको बताउँदै अधिकारीले प्रारम्भिक अध्ययनको क्रममा उक्त भग्नावशेष कुनै मन्दिरको हुन सक्ने जानकारी दिए । ‘यो हाम्रो प्रारम्भिक अध्ययन हो, पुरा भएको छैन,’ उनले भने, ‘अहिलेसम्म हेर्दा यो १७ औ शताब्दीतिर बनेको मन्दिर हुनसक्ने अनुमान गरेका छौ ।’
उनका अनुसार भेटिएको गारो ७० सेन्टिमिटर चौडाइको छ । जग हेर्दा इट्टा, ढुंगाबाट निर्माण भएको र झिंगटीले छाएको कम्तिमा दुई तलाको मन्दिर हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । ‘नजिकै रहेको राम मन्दिरतर्फ पनि संरचनाको केही भाग घुसेको देखिन्छ, सबै भाग उत्खनन गरेर अध्ययन गरेपछि मात्र के रहेछ भन्ने एकिन हुन्छ,’ उनले भने ।
भग्नावशेषसँगै केही ढुंगाहरु पनि भेटिएको भन्दै उनले थपे, ‘जगभन्दा माथिल्लो भागमा आइसकेपछि पेटीभन्दा माथि वरपर यही ढुंगामा थाम अड्याएर मन्दिरको भार ट्रान्सफर गरेको बुझिन्छ । गारोमा माटोको जोडाइहरु देखिन्छन् ।’
तर विस्तृत अध्ययन बिना एकिन गर्न नसकिने उनको भनाइ छ । विस्तृत अध्ययनका लागि दक्षिण पुर्व तर्फ रहेको राममन्दिर तर्फको भाग पनि उत्खनन गर्नुपर्ने उनले बताए । ‘दक्षिण पुर्व तर्फको राम मन्दिरमा पनि यसको संरचनाको केही भाग घुसेको देखिन्छ, यसको पुरै संरचना उत्खनन गरेर अध्ययन सकेपछि मात्र यसको संरक्षण कसरी गर्ने भन्ने बिभागले निर्णय गर्छ,’ उनले भने । संरक्षणको मोडालिटीबारे पनि त्यसपछि एकिन हुने उनले जानकारी दिए ।
प्रारम्भिक अध्ययन सकिएको बताउँदै उनले हाललाई अस्थायी रुपमा उक्त संरचनाको संरक्षण गरेर जाने बताए । प्लाष्टिकले ढाकेर माथिबाट माटोले संरक्षण गरिने उनले जानकारी दिए । तत्काल सो क्षेत्रमा उत्खनन नगर्न र कुनै पनि संरचना निर्माण नगर्न बिभागले स्थानीयलाई आग्रह समेत गरेको छ ।



































