भ्रमण बर्षलाई लक्षित गरी गोरखा नगरपालिकाले स्ट्रिट नम्वर राख्न सुरु गरेको छ । आँबुखैरेनीबाट गोरखा प्रवेश गर्ने मूलगेटदेखि गोरखा दरवारसम्म र हरमटारीचोकदेखि कोखे आहालेसम्मको बिभिन्न ठाउँमा स्ट्रिट नम्वर उल्लेखित बोर्ड राख्न थालिएको हो ।
शुक्रवारबाट काम सुरु भएको बताउँदै गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले हालसम्म करिव ३० वटा स्थानमा स्ट्रिट नम्वरसहितको बोर्ड राखिएको बताए । ‘कुल ३९ वटा ठाउँलाई नम्बरिङ गर्ने हो,’ उनले भने, ‘अव केही ठाउँमा मात्र बाँकी छ, एक दुई दिनमा सबै ठाउँमा राखिसक्छौ ।’ गोरखा आँबुखैरेनी सडकखण्डको अवुवा, स्याउली, दश किलो लगायतका बिभिन्न चोकमा स्ट्रिट नम्वरिङ बोर्ड राखिने उनले जानकारी दिए । त्यस्तै बजार क्षेत्रको प्रतिक्षालयचोक, आर्युवेदिक चोक, रंगशाला, हरमटारीचोक, शक्तिचोक, पुरानो बसपार्क, बिपी चोक, ठुलोआँगन, तिनधारे, छहरे लगायतका ठाउँलाई पनि नम्वरिङ गरिने उनको भनाइ छ ।
उनका अनुसार हरमटारीचोकदेखि कोखे आहाले खण्ड अन्तरगत बराह, आहाले, ढुंगागाडेचोक, फिनामचोक लगायतका स्थानमा स्ट्रिट नम्वरको बोर्ड राखिने छ । बोर्ड राखिएको स्थानबाट पुग्न सकिने ठाउँको नाम पनि उल्लेख गरिने छ । ‘क्यू आर कोड सहित बोर्ड राखेका छौ, उक्त क्यू आर कोड स्क्यान गरेपछि त्यहाँबाट कुन कुन ठाउँ पुग्न सकिन्छ भनेर त्यो ठाउँको विवरणहरु आउछ,’ इन्जिनियर ढकालले भने । गोरखा आउने पर्यटकलाई गोरखाका बिभिन्न ठाउँको जानकारी लिन सहज होस् भन्ने उदेश्यले क्यू आर कोडसहितको स्ट्रिट नम्वर राखिएको उनले जानकारी दिए ।

त्यस्तै जिल्लाका ऐतिहासिक र धार्मिक महत्वका स्थानमा क्यूआर कोड सहितको सूचनामूलक होर्डिङ बोर्ड राख्ने काम पनि सुरु भएको छ । नगरपालिकाले पहिचान गरेको कुल ५६ स्थानमध्ये हालसम्म १८ ठाउँमा होर्डिङ बोर्ड राखिसकिएको इन्जिनियर ढकालले बताए । उक्त बोर्डमा त्यस ठाउँको धार्मिक र ऐतिहासिक महत्वसँगै आवश्यक विवरण उल्लेख गरिएको उनले जानकारी दिए ।
उनका अनुसार वडा नम्वर १ को ताप्लेकोट र अकला मन्दिर, वडा नम्वर २ को भुतिया छाँगो र गौरीशंकर मन्दिर, वडा नम्वर ३ को बिन्ध्यावासिनी मन्दिर, वडा नम्वर ४ को भिमसेन पार्क र भगवतीस्थान मन्दिर, वडा नम्वर ५ को चिल्ड्रेनपार्क र द्रव्यशाह चौतारा, वडा नम्वर ६ को गोरखा दरवार, संग्रहालय, ठुलोआँगन र रानीपोखरी परिसरमा होर्डिङबोर्ड राखिने छ । त्यस्तै वडा नम्वर ८ को बराह मन्दिर, वडा नम्वर १० को महादेवटारी, वडा नम्वर १३ को रामशाह उद्यान र वडा नम्वर १४ को बुढीकोट र अकला मन्दिरमा होर्डिङ बोर्ड राखिने छ । वडा नम्वर ७, ९ र १० को केही स्थानमा पनि होर्डिङ बोर्ड रहने उनले जानकारी दिए । ती स्थानमध्ये केहीमा बोर्ड राखिसकिएको छ भने केहीमा राख्ने काम भइरहेको बताइएको छ ।



































