लाप्राकको गुप्सीपाँखा क्षेत्रभित्र लालीगुराँस फुल टिप्नेलाई कारवाही हुने भएको छ । कारवाही स्वरुप पाँच सय रुपैया जरिवाना गरिने लाप्राक पर्यटन बिकास समितिले जनाएको छ ।
लालीगुराँस संरक्षणका लागि भन्दै दुई महिनाअघि बसेको समिति बैठकले उक्त निर्णय गरेको हो । ‘यहाँ आउने पर्यटकहरुले फुल देखेपछि टिप्न खोज्छन्,’ समिति कोषाध्यक्ष ज्योती गुरुङले भनिन्, ‘फुल मात्र टिपे त हुन्थ्यो हाँगा नै भाँचिदिने गरेको देखियो ।’
हाँगा भाँच्दा रुख मर्ने र अर्काे साल फुल नफुल्ने समस्या हुन थालेको उनले बताइन् । थपिन्, ‘चैत्र बैशाखमा झपक्क लालीगुराँस फुल्छ, त्यही लालीगुराँस फुलेको हेर्न पर्यटक आउने गर्छन्, हाँगा भाचिदिन थालेपछि अर्काे साल फुल फुल्दैन, अनि पर्यटकले के हेर्ने ?’ झपक्क फुलेको लालीगुराँसले गाउँको सौन्दर्य समेत बढाएको भन्दै उनले संरक्षणकै लागि जरिवाना लिने निर्णय गरिएको जानकारी दिइन् ।
सो क्षेत्रमा समितिले सूचनाबोर्ड नै राखेर सचेत गराएको छ । राष्ट्रिय फुल लालीगुराँस र अन्य फुलहरु नटिप्न र टिपेमा ५ सय रुपैया जरिवाना गरिने बोर्डमा उल्लेख गरिएको छ । अहिलेलाई सूचना बोर्ड राखेपनि वन हेरालु राख्न नसकेको उनले सुनाइन् । ‘आर्थिक हिसावले वन हेरालु नै भनेर राख्न सकेका छैनौ, अहिलेलाई सूचनाबोर्ड राखेर सजग गराइएको छ,’ उनले भनिन् । जथाभावी फुल नटिप्न र यसको संरक्षण गर्न उनले आग्रह समेत गरेकी छन् । बारपाक पुग्ने अधिकांश पर्यटक अहिले लाप्राक समेत पुग्ने गर्छन् ।
गुप्सीपाखामा बनेको नमुना वस्ती हेर्नका लागि पुगेका पर्यटकहरु लालीगुराँस फुल्ने सिजनमा त्यहाँको सौन्दर्यबाट थप आकर्षित हुने गरेको स्थानीय बताउँछन् ।



































