गोरखा संग्रहालयमा भिजुअल कक्ष थप गरिएको छ । बिशेष गरी अशक्त र अपाङ्गता भएकाहरुलाई लक्षित गरी उक्त कक्ष थप गरिएको संग्रहालयले जनाएको छ ।
‘अशक्त र अपाङ्गता भएकाहरुलाई माथिल्लो तलासम्म पुगेर संग्रहालयका कक्षहरु हेर्न मुश्किल पर्छ,’ संग्रहालय प्रमुख जयनारायण कार्कीले भने, ‘तलै बसेर संग्रहालयका सबै कक्षहरु अवलोकन गर्न मिल्ने व्यवस्थासहित भिजुअल कक्ष थप गरेका हौ ।’ आज आइतवारबाट संचालनमा आउने उक्त कक्षको अगाडी ठुलो मनिटर राखिएको छ । उक्त मनिटरमा संग्रहालयमा रहेका हरेक कक्षहरुको भिजुअलसहित विस्तृत विवरण प्रस्तुत हुने कार्कीले बताए ।
‘करिव ३० मिनेटको भिडियो देखाउँछौ, जहाँ संग्रहालयमा रहेका हरेक कक्षहरुको भिजुअलसहितको विस्तृत विवरण प्रस्तुत हुन्छ,’ उनले भने । साथमा ऐतिहासिक स्थल गोरखा दरवार र मनकामना मन्दिरको ऐतिहासिक महत्वसहितको विवरण पनि भिडियोमा देखाइने उनले जानकारी दिए ।
थप गरिएको भिजुअल कक्ष ग्यालरी बिस्तार नभई संग्रहालयमा रहेका उपकरणहरुलाई प्रयोगमा ल्याइएको उनको भनाइ छ । संग्रहालयमा तोप राख्ने स्थान पनि निर्माण गरिएको छ । ‘यसअघि यत्तिकै भुँईमा राखेका थियौ, अहिले तेलिया इट्टा र चुना सुर्की प्रयोग गरेर ठाउँ बनाएका छौ,’ संग्रहालय प्रमुख कार्कीले भने ।



































