बर्खे धानका लागि मौसम अनुकुल भएको यो वर्ष गोरखाको रोपाईँ तिव्र गतिमा भइरहेको छ । किसानहरुले हालसम्म ५५ प्रतिशत रोपाईँ सकेका हुन् । यो सिजनमा जिल्लाभर १० हजार एकसय ४० हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिन्छ ।
‘गतवर्ष असार मसान्तसम्ममा जम्मा ३८ देखि ४२ प्रतिशत रोपाईँ सकिएका थिए, यो वर्ष नेपालमा १५ दिनअघि मनसुन भित्रिएकाले पनि जिल्लाको रोपाईँ तिव्र बनेको छ’, कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीले भने, ‘यदि मौसमले साथ दिइरह्यो भने साउनको पहिलो हप्ताभित्र जिल्लाभर रोपाईँ गरेर सकिन्छ ।’
पर्याप्त वर्षा भइरहेकाले यो वर्ष किसानहरुले सिंचाइको समस्या भोग्नु नपरेको उनले बताए । गतवर्ष गोरखामा ३९ हजार ९०० मेट्रिक टन धान उत्पादन भएको थियो । अहिले धान रोप्ने सिजनमा सिँचाइको अभाव नभएकाले उत्पादन बढ्न सक्ने अनुमान कृषि प्राविधिकहरुको छ ।
तर, किसानहरुले यो वर्षपनि मलको अभाव खेप्नुपर्ने अवस्था रहेको ज्ञान केन्द्रका प्रमुख बस्ताकोटीले बताए । ‘जिल्लामा ४ देखि ५ हजार टन रसायनिक मलको माग छ तर, जिल्लाका लागि यो वर्ष जम्मा दुईहजार टन धानको कोटा आएको छ । किसानहरुलाई रसायनिक मलको अभाव नै त हुँदैन तर भनेजति पर्याप्त पनि हुँदैन’, बस्ताकोटीले भने । अहिले गोरखामा मागभन्दा ५० प्रतिशत कम मल आयात भएको उनले बताए । कृषि ज्ञान केन्द्रमा हरेक दिन किसानले मल नपाएको गुनासो गर्छन ।
गोरखामा किसानहरु रामधान, साबित्री, सुख्खा २ जस्ता उन्नत जात र हाईब्रिडमा च्याम्पियन, युएस ३१२ नामको धान रोपेका छन् । साथै, केही स्थानीय जातका धानको बिउँहरु पनि रोपेको बताइएको छ । जिल्लाको दरौँदी फाँट, सिर्दिफाँट, शेराफाँट, ज्यादुलफाँट, टारिफाँट, दर्बुङफाँट, बोर्लाङफाँट लगायतका ठाउँमा धान उत्पादन धेरै हुने गर्छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा भने धान खेती हुँदैन् ।



































