आइतवार आँवुखैरेनीको ऐना पहारामा दुर्घटना भएको बस बिहान करिव साढे दश बजे गोरखाबाट यात्रु लिएर चितवनका लागि निस्केको थियो । चितवन जाने यात्रुको संख्या कम भएपछि उनीहरुलाई अर्काे गाडीमा पठाएर ऐना पहरामै गाडी रोकियो । शहिद लखन गाउँपालिका–६ की सवु थापा मगर र उनका आफन्त सोही वसमा चढेर ऐना पहरा घुम्न आएका थिए ।
उनीहरुलाई लिएर गोरखा फर्कने भन्दै बस सोही स्थानमा कुरिरह्यो । उनीहरु केही बेर ऐना पहरा घुमेर फर्कने तयारी गरे । केही बसमा चढे । कोही चढ्ने तयारीमा थिए । चालकले गाडी स्टार्ट गरेर बाँकी यात्रुलाई कुरेर बसे । केही क्षणमा स्टार्ट मै राखेर चालक गाडीबाट ओर्लिए तर, ओत लगाउन बिर्सिए । गाडी बिस्तारै पछाडी गुड्न थाल्यो । भित्र रहेका केही यात्रु ढोकाबाट हाम फालेर ज्यान जोगाउन सफल भए । बाँकी पाँच जना भने गाडीबाट ओर्लन नपाउँदै गाडीसँगै भिरमा खसे ।
‘हामी दश जना थियौ, ऐना पहरा घुमेर फर्कने तयारी गर्दै थियौ,’ मगरले भनिन्, ‘चार÷पाँच जना आएर गाडी चढीसकेको थियो, बाँकी चढ्दै थियौ, त्यही बेला ड्राइभर गाडी स्टार्टमै राखेर कता गएछ, बस एक्कासी गुडेर आफै तल भिरतिर गयो ।’ बसमा रहेका केही सडकमै हाम फालेर ज्यान जोगाएको उनले बताइन् ।
उनका अनुसार बाँकी पाँच जना भनेर बससँगै तल खसे । उनीहरुमध्ये अहिले दुई जना घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बाँकी तीन जना भने आँवुखैरेनी अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।



































