खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाबाट सुहलियत दरमा बिक्री हुने चामलको कोटा घटेको छ । उत्तरी गोरखाको नाम्रुङ र चुम्लिङ बिक्री केन्द्रमा यो बर्ष कोटा घटेको कार्यालयले जनाएको छ ।
कुल एक हजार क्विन्टल कोटा घटेको कार्यालयकी प्रभा शर्माले बताइन् । ‘गत बर्ष दुवै केन्द्रमा १५÷१५ सय क्विन्टल कोटा थियो,’ उनले भनिन्, ‘यो बर्ष एक÷एक हजार मात्र छ ।’ सिर्दिवास डिपोको कोटा भने यथावत रहेको उनले जानकारी दिइन् । उनका अनुसार गत बर्ष सिर्दिवास डिपोका लागि एक हजार क्विन्टल कोटा स्वीकृत भएको थियो । यो बर्ष पनि एक हजार क्विन्टल कोटा निर्धारण भएको उनले बताइन् ।
उनका अनुसार गत बर्ष नाम्रुङ र चुम्लिङ बिक्री केन्द्रमा निर्धारित कोटावाहेक कुल १३ सय क्विन्टल थप भएको थियो । तर यो बर्ष कोटा घटेर आएको छ । यो बर्ष कार्यालयले फोटिफाइड स्टिम जिरा मसिना, फोटीफाइड सोना मंसुली, सोना मंसुली र स्टिम जिरा मसिना चामल बिक्री गर्ने छ ।
सिर्दिवास डिपो, नामु्रङ र चुम्लिङ बिक्री केन्द्रबाट स्टिम जिरा चामल प्रति केजी ९२ रुपैया र सोना मंसुली प्रति केजी ६५ रुपैयामा बिक्री हुने कार्यालयले जनाएको छ । सदरमुकामस्थित कार्यालयमा भने स्टिम जिरा मसिनाको प्रति केजी ९० र सोना मंसुलीको ६५ पर्ने बताइएको छ ।
यो बर्ष चामल ढुवानीका लागि ठेक्का आव्हान भएको कार्यालयकी शर्माले बताइन् ।
केही दिनमा ठेक्का सम्झौता भएर ढुवानी कार्य अघि बढ्ने उनको भनाइ छ । माछाखोला डिपोका लागि भने यो बर्ष कोटा छुट्याइएको छैन । केही बर्षदेखि बिक्रीदर घट्दै गएकाले कोटा नछुट्याइएको बताइएको छ ।



































