चाडवाडको मौका छोपी यात्रुसँग बढी भाडा लिएको गुनासो बढेसँगै गोरखा प्रशासनले निगरानी बढाएको छ । मंगलवार प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुखसहितको टोलीले टिकट काउण्टर र बजार क्षेत्रमा छड्के चेकजाँच गरेको छ ।
‘बढी भाडा लिने र गाडी लुकाएर राख्दा यात्रुहरु अलपत्र परेको भन्ने गुनासो आएपछि हामी आफै आज फिल्डमा खटियौ,’ प्रजिअ रामु राज कडरियाले भने, ‘काठमाडौं जाने यात्रुहरु धेरै भएकाले समस्या भएको रहेछ । नारायणगढ, पोखरा चल्ने केही बसहरुमा ती यात्रुहरु राखेर काठमाडौं पठायौ ।’ ठाउँठाउँमा छड्के चेकजाँच समेत भइरहेको उनले बताए । चलानी काटेर नजाने र बढी भाडा लिनेलाई कारवाही समेत गरिएको उनले जानकारी दिए ।
मझुवा, बाह्र किलो र प्रत्येक प्रहरी यूनिटलाई छड्के चेकजाँच गर्न निर्देश समेत भइसकेको जिल्ला प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले बताए । ‘हामी आफै पनि फिल्डमा खटिएका छौ, बिशेष गरि मझुवा र बाह्र किलो प्रहरी चौकीलाई चेकजाँचमा कडाई गर्न भनेका छौ,’ उनले भने । अन्य ठाउँमा पनि बढी भाडा लिए नलिएको बारे छड्के चेकजाँच भइरहेको उनले जानकारी दिए ।
उनका अनुसार बढी भाडा लिने केही सवारी कारवाहीमा समेत परेका छन् । ‘यात्रुसँग बढी भाडा लिएको भेटिएमा लागतभन्दा बढी भाडा यात्रुलाई फिर्ता गरेर त्यो सवारीलाई कारवाही समेत गरेका छौ,’ उनले भने ।
बढी भाडा लिएमा प्रजिअको फोन नम्वर ९८५६०५७७७७, प्रहरी प्रमुखको फोन नम्वर ९८५६०५५५५५ वा प्रहरीको हटलाइन नम्वर १०० मा फोन गर्न एसपी बिकले आग्रह गरेका छन् । चाडवाडमा सार्वजनिक यातायातले साविकको भन्दा दोव्वर भाडा लिदै आएका छन् । काठमाडौ जाने यात्रुसँग बसले प्रति व्यक्ति आठ सय र माइक्रोले एक हजार रुपैया लिने गरेका छन् ।
ट्राफिक प्रहरी र प्रशासन यसबारे जानकार भएपनि नियन्त्रण र कारवाहीमा असफल देखिन्छन् । जसका कारण प्रत्येक बर्ष चाडवाडको समयमा यात्रुले दोव्वर भाडा मात्रा होइन यात्रामा निकै सास्ती समेत भोग्नुपर्ने बाध्यता छ ।



































