जेनजी आन्दोलनको क्रममा भागेका १४ जना कैदीवन्दी गोरखाबाट पक्राउ परेका छन् । जिल्लाको बिभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पक्राउ परेकामध्ये अधिकांश कर्तव्य ज्यान र बलात्कार मुद्दाका छन् । ‘कर्तव्य ज्यान मुद्दाका मात्रै पाँच जना छन्,’ जिल्ला प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले भने, ‘फेरी ती सबै गोरखाकै रहेछन् ।’ पक्राउ पर्नेमा चुमुनव्री गाउँपालिका–६ चुम्चेतका सोनम दोर्जे लामा, छेवाङ रिजिन लामा, सोनम ग्याल्जेन लामा, तेन्जीन रिक्देल लामा र भीमसेन थापा गाउँपालिका १ का राजेश विश्व सुनार रहेको उनले जानकारी दिए । उनीहरु सबै कारागार कार्यालय कास्कीबाट भागेका थिए ।
त्यस्तै पक्राउ पर्नेमा जवरजस्ती करणी मुद्दाका ६ जना रहेका छन् । पालुङटार नगरपालिका–१ का बमबहादुर श्रेष्ठ, भरत ठकुरी, वडा नम्वर ६ का सामुयल नेपाली, सिरानचोक गाउँपालिका–५ का बिक्रम नेपाली, धनकुटा छथरजोरपाटी गाउँपालिकाका सुमन सुनदास र लमजुङको राइनास नगरपालिका–६ का बाबुराम नेपाली पक्राउ परेको एसपी बिकले बताए । उनीहरुमध्ये चार जना कास्की कारागारबाट र बाँकी दुई जना कारागार कार्यालय जगनन्नाथदेवल काठमाडौंबाट भागेका हुन् ।
मानव वेचविखन मुद्दामा सजाय भोगिरहेका दुई जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ की सुस्मा मग्राती र धादिङको धुनीवेशी नगरपालिकाका भुवन तामाङ रहेका छन् । जेनजी आन्दोलनको क्रममा मग्राती बाल सुधार गृह सानोठिमी भक्तपुरबाट भागेकी थिइन् भने तामाङ केन्द्रिय कारागार कार्यालय काठमाडौबाट भागेका थिए ।
चोरी मुद्दामा कारागार कार्यालय तनहूँमा सजाय भोग्दै आएका र आन्दोलनको क्रममा भागेका बिशाल उपरकोटी पनि पक्राउ परेका छन् । उनी सिरानचोक गाउँपालिका–२ निवासी हुन् । बिभिन्न मितिमा पक्राउ परेका उनीहरुलाई हाल गोरखा कारागारमा राखिएको एसपी बिकले जानकारी दिए ।



































