उत्तरी गोरखाको पाङबारी पिक हिमाल चढ्न गएका तीन बिदेशी पर्यटकसहित ६ जना हिमपातमा फसेका छन् । हिमाल चढ्ने क्रममा उनीहरु बेस क्याम्पमै फसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘तीन जना इटालियन नागरिकहरु र एक जना गाइड, दुई जना पोर्टर गरेर तीन जना नेपाली गएका रहेछन्,’ एसपी भरतबहादुर बिकले भने, ‘हिमाल चढ्ने क्रममा हिमपात भएपछि माथि पनि जान सकेनछन्, तल पनि झर्न नसकेर त्यही अड्किएछन् ।’ एक जना बिदेशी एक नम्वर क्याम्प र दुई जना ४ नम्वर क्याम्पमा अड्किएको उनले जानकारी दिए । उनीहरुसँगै गएका तीन जना नेपाली पनि त्यही क्याम्पमा अड्किएका छन् ।
उनीहरुको उद्धारका लागि प्रयास भइरहेको एसपी बिकले बताए । कैलाश एयरको हेलिकप्टरसँग समन्वय भइरहेपनि प्रतिकूल मौमसका कारण हेलि आउन नसकेको उनले जानकारी दिए । ‘उद्धारका लागि केही स्थानीय घोडा लिएर गएका छन्, साम्दो बेसक्याम्पबाट सशस्त्र प्रहरी बलको टोलिले पनि पहल गरिरहेको छ, तर उनीहरुसँग सम्पर्क भने हुन सकेको छैन,’ उनले भने ।
उक्त हिमाल उत्तरी गोरखाको साम्दोहुँदै पाङबोचेस्थित ताजुङ भञ्ज्याङ नाका जाने बाटोमा पर्छ । साम्दोबाट करिव ६ घण्टा पैदल उत्तर तर्फ पर्ने बताइएको छ ।
शेर्पा अल्पाइन ट्रेकिङ सर्भिस काठमाडौंबाट उनीहरु यही कात्तिक १ गते उक्त हिमाल चढ्नका लागि आएका थिए ।



































