आसन्न निर्वाचनलाई लक्षित गरी गोरखामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । दुवै निर्वाचन क्षेत्रमा शुक्रवार कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन क्षेत्र नम्वर १ हेर्ने गरी जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले बताए । क्षेत्र नम्वर २ का लागि गोरखा नगरपालिका वडा नम्वर ८ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय राखिएको उनले जानकारी दिए ।
दुवै कार्यालयको शुक्रवार उद्घाटन गरिएको हो । जिल्ला न्यायाधिश बिष्णुप्रसाद गौतमलाई निर्वाचन क्षेत्र नम्वर १ को मुख्य निर्वाचन अधिकृतको रुपमा खटाइएको छ । त्यस्तै क्षेत्र नम्वर २ को निर्वाचन अधिकृतको रुपमा मोहनप्रसाद वेलवासेलाई खटाइएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्वर १ मा कुल मतदाता १ लाख २० हजार ५२५ छन् भने क्षेत्र नम्वर २ मा १ लाख ८ हजार ५३३ जना छन् ।



































