उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ सिप्चेतमा नेपाल टेलिकमको फोरजी टावर निर्माण हुने भएको छ । आवश्यक टावरका सामग्री पालिका आइपुगेको छ । नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय ववरमहलले उक्त सामग्री पठाएको हो ।
‘पाङसिङसम्म गाडीमा सामान आइपुग्यो,’ पालिका अध्यक्ष निमा लामाले भने, ‘अव यहाँबाट बोकाएर सिप्चेत पु¥याउनुपर्छ ।’ सो क्षेत्रबाट सिप्चेत पुग्न करिव दुई दिनको पैदल यात्रा गर्नुपर्ने उनले बताए ।
सिप्चेतमा फोर जी टावर निर्माणका लागि पालिकाले धेरै समयअघि देखि पहल गर्दै आएको थियो । ‘टावर राख्न बिगत लामो समयदेखि हामीले धेरै संघर्ष ग¥यौ, पटक पटक निर्देशनालय धायौ,’ लामाले भने, ‘केही महिनाअघि निर्देशनालयका इन्जिनियर टोलीबाट सर्भे भएको थियो, आज सामान आइपुग्यो ।’ सिप्चेतमा सामग्री पुगेसँगै निर्माण कार्य अघि बढ्ने निर्देशनालयले जानकारी गराएको उनको भनाइ छ ।
उनका अनुसार निर्वाचनअघि नै टावर बन्ने पक्का भइसकेको थियो । तर चुनावका कारण काम अघि बढ्न सकेको थिएन । सिप्चेतमा टावर बनेसँगै चुम्चेत, सिप्चेत, चुम्लिङ, लोक्पा लगायतका स्थानीय बढी लाभान्वित हुने बताइएको छ ।
नेपाल टेलिकम गोरखा शाखाका अनुसार हाल चुमनुव्री गाउँपालिकाका आठ स्थानमा नेपाल टेलिकमको फोर जी टावर छन् । जगत, न्याक, छेकम्पार, ल्हो, बिही, सियोडाँडा, सामागाउँ र साम्दोमा टावर रहेको कार्यालयका सूचना अधिकारी सन्दिप ढकालले बताए । ‘न्याक र छेकम्पारको बीचमा कतै पनि टावर छैन, सिप्चेतमा राखेपछि त्यो बीचका ठाउँहरुमा नेटवर्कको समस्या हुदैन,’ उनले भने ।
सिप्चेतमा टावर निर्माण भएसँगै चुम उपत्यकामा सेवा विस्तारको काम हुने पालिका अध्यक्ष लामाले बताए । सिर्दिवास, सेराङ गुम्वा लगायतका ठाउँमा पनि सेवा विस्तार हुने उनले जानकारी दिए ।



































