उत्तरी गोरखामा स्याउ खेति गर्ने किसानहरुलाई ढुवानी प्रमुख समस्या बन्ने गरेको छ । सडक सञ्जाल नजोडिएका कारण उत्पादित स्याउलाई बजारसम्म पु¥याउन मुश्किल हुने गरेको उनीहरुको गुनासो छ ।
चुमनुव्री गाउँपालिका–४ नाम्रुङमा स्याउ खेति गर्दै आएका लाक्पा डुन्डुप उत्पादन राम्रो भएपनि ढुवानीमा समस्या रहेको बताउँछन् । ‘सडक छैन, मान्छेलाई बोकाएर सम्भव हुदैन,’ उनले भने, ‘खच्चडबाट ढुवानी गर्दा चोट लागेर आधा जति स्याउ बिग्रिन्छ ।’ सडक सञ्जाल नजोडिएकै कारण ढुवानी खर्च महँगो पर्ने गरेको उनले दुखेसो गरे । उनका अनुसार नाम्रङदेखि पाङसिङसम्म खच्चडले प्रति केजी ३५ रुपैया ढुवानी खर्च लिन्छ । पाङसिङबाट गाडीमा बजार ल्याउँदा थप ढुवानी खर्च लाग्छ । ढुवानी महँगो हुदाँ घाटा पर्ने उनले बताए ।
पाँच बर्षअघि इटालीबाट विरुवा ल्याएर उनले स्याउ खेति थालेका हुन् । सुरुवाती चरणमा परीक्षण स्वरुप उनले करिव चार हजार विरुवा लगाएका थिए । उत्पादन राम्रो भएपछि खेती विस्तार गर्दै लगे । अहिले १२ हजार ५ सय बोट छन् । एउटै बोटले कम्तिमा तीस किलो स्याउ उत्पादन गर्छ । बर्षेनी करिव ५० हजार किलो स्याउ उत्पादन हुने तर ढुवानी समस्याले स्टोरमै थन्किने गरेको उनले बताए ।

‘बजारमा माग बढी छ, तर ढुवानी गर्न नसकेर स्याउ स्टोरमै थन्किएको छ,’ डुन्डुपले भने, ‘फेरी लामो समय यत्तिकै राख्दा स्याउ बिग्रिन्छ, त्यसैले त्यसको सुकुटी, एप्पल साइडर र रक्सी बनाउन थालेका छौ ।’ उत्पादित रक्सी बिक्री वितरणका लागि पालिकाले अनुमति नदिँदा थप समस्या भएको उनले गुनासो गरे । करिव तीस हजार लिटर स्याउको रक्सी यसै बसेको उनले बताए ।
यसअघि उनले हेलिकप्टर मार्फत स्याउ ढुवानी समेत गरेका थिए । तर ढुवानी खर्च महँगो परेपछि उनी थप निराश बने । ‘पर्यटक लिएर मनास्लु क्षेत्र आएको हेलिकप्टर रित्तै फर्कन्थ्यो, त्यसैमा ढुवानी गरेर स्याउ काठमाडौ लगेर पनि बेचे तर ढुवानी नै महँगो पर्न गयो,’ उनले भने । ढुवानी समस्याका कारण टिपेर राखेको धेरै स्याउ कुहिएर खेर गएको उनले सुनाए ।
पालिकाले ढुवानीमा अनुदान दिनुपर्ने उनको माग छ । ‘अहिले सामान बोक्ने ड्रोनहरु पनि छन्, पालिकाले की त्यसको व्यवस्था गर्नुप¥यो या हेलिकप्टरबाट ढुवानी गर्न अनुदान दिनुप¥यो,’ उनले भने । ढुवानीमा अनुदान पाए उत्तरी क्षेत्रमा स्याउ खेती जीविकोपार्जनको बलियो आधार हुने उनको भनाइ छ ।

अहिले उनले गाला, फुजी, गोल्डेन डेलिसियस, क्विन रेड डेलिसियस र रेड डेलिसियस गरी पाँच जातका स्याउ खेती गरेका छन् । उनका अनुसार असोज र कात्तिक महिनामा स्याउ टिप्ने सिजन हो । ढुवानी समस्याले स्याउ बजारसम्म पु¥याउन नसक्दा अव टिप्ने स्याउ कहाँ थन्क्याउने भन्ने चिन्ता उनलाई छ ।
चुमनुव्री गाउँपालिकाको ल्हो, क््रयाक, सिर्दिवास, लोक्पा लगायतका ठाउँमा पनि स्थानीयले स्याउ खेती गरेका छन् । तर ढुवानी नै प्रमुख समस्या बन्ने गरेको छ । कृषि निर्देशनालयबाट अनुदानमा विरुवा पाएपनि ढुवानीका लागि कुनै निकायले सहजिकरण नगरेको उनीहरुको गुनासो छ ।



































