भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकामध्ये गोरखामा भेटिएको २९ वटा शव व्यवस्थापन गरिएको छ । पहिचान खुल्न नसकेको शवहरुको शनिवार शहिद लखन गाउँपालिका–९ बुंकोटघाटमा सामूहिक रुपमा व्यवस्थापन गरिएको प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले बताए ।
‘व्यवस्थापन गरिएका शवमध्ये केहीको हात, केहीको खुट्टा र केहीको टाउँको मात्रै थियो,’ उनले भने, ‘खाडल खनेर सामूहिक रुपमा ती शवको व्यवस्थापन गरेका हौ ।’ व्यवस्थापनअघि ती शवहरुको डिएनए टेष्टका लागी नमूना संकलन र ‘फिंगर प्रिन्ट’ समेत लिइएको उनले जानकारी दिए ।
जिल्लाका प्रहरी प्रमुख एसपी अनिलकुमार खड्काको संयोजकत्वमा शव व्यवस्थापन समिति रहेको छ । उक्त समितिको अगुवाइमा शनिवार बसेको सर्वपक्षिय बैठकले पहिचान खुल्न नसकेका शवहरुको व्यवस्थापन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताए ।
बाढीमा परेर ज्यान गुमाएकामध्ये हालसम्म गोरखामा ५८ वटा शव फेला परेको छ । जसमध्ये ११ वटा पोखरा पठाइएको छ भने १८ वटा जिल्लामा राखिएका छन् । २९ वटाको शनिवार सामूहिक व्यवस्थापन गरिएको छ ।



































