सवारी चापले व्यस्त रहने पृथ्वी राजमार्ग शुक्रवार सुनसान थियो । बाढीले अवरुद्ध सडकका कारण मुग्लिन नौविसेखण्डमा सवारी चलेका थिएनन् । सोही खण्ड भएर बग्ने त्रिशुली नदी किनारमा सुरक्षाकर्मीहरु रसुवा बाढीले बगाएर ल्याएको शवको खोजीमा व्यस्त देखिन्थे ।
शव खोजीका लागि गोरखाबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलि विगत दुई दिनदेखि त्रिशुली नदी किनारमा खटिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म गोरखामा ४८ जनाको शव फेला परिसकेको छ ।
‘आज मात्रै चार जनाको शव फेला प¥यो,’ डिएसपी राजकुमार श्रेष्ठले भने, ‘खोजी कार्य जारी छ ।’ भेटिएका शवमध्ये ११ वटा पोखरा पठाइएको र बाँकी जिल्लामै राखिएको उनले बताए । उनका अनुसार चार वटा शव गोरखा सदरमुकामस्थित एनपिआई गोरखा अस्पताल र बाँकी प्रदेश अस्पताल गोरखामा राखिएको छ ।
शव थपिदै गएपनि पहिचान नखुल्दा व्यवस्थापनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताए । ‘शव थपिदै छन्, पहिचान नहुँदा समस्या भएको छ,’ उनले भने । जिल्लामा भेटिएको शव सम्बन्धित जिल्लामै व्यवस्थापन गर्ने भनी प्रहरीमा परिपत्र समेत आएको जानकारी गराउँदै उनले थप समन्वय र सहकार्यमा जुट्ने बताए ।
शव पहिचानका लागि प्रहरी कार्यालयमा हेल्प डेक्स
बाढीमा परी ज्यान गुमाउनेहरुको शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालयले हेल्प डेक्स स्थापना गरेको छ । गोरखातर्फ भेटिएका शवहरुको पहिचानका लागि डेक्स स्थापना गरिएको डिएसपी श्रेष्ठले बताए । ‘मान्छे पहिचान गर्न सहज हुन्छ भनेर भेटिएका शवको फोटो डेक्समा राखिएको डिजिटल बोर्ड मार्फत देखाउने गरेका छौ,’ उनले भने, ‘बाढीमा परी हराएका मान्छेको खोजि कार्यका लागि आफन्तहरुले त्यहाँ आएर निवेदन पनि दिनसक्नुहुन्छ, हामी खोजी कार्यका लागि पहल गर्छाै ।’
५१ जना सम्पर्कविहीन
प्रशासन कार्यालयका अनुसार बाढीमा परी हालसम्म जिल्लाका ५१ जना सम्पर्कविहीन छन् । स्थानीय तहको समन्वयमा उक्त तथ्याङ्क संकलन गरिएको कार्यालयले जनाएको छ । पालुङटारबाट गोसाईकुण्ड तिर्थयात्रा गएका ३० भन्दा बढी सम्पर्कविहीन रहेको प्रजिअ श्रेष्ठले बताए । त्यस्तै बारपाक सुलिकोट र शहिद लखन गाउँपालिकाका ६÷६ जना सम्पर्कविहीन छन् । धार्चे र आरुघाट गाउँपालिकाका ३/३ जना र अजिरकोट गाउँपालिकाका एक जना सम्पर्कविहीन रहेको उनले जानकारी दिए । उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ ।
तीन झोलुंगे पुल बगायो
रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीले गोरखा जोड्ने तीन वटा झोलुङ्गे पुल बगाएको छ । गोरखाको गण्डकी गाउँपालिका ८ धवादीघाट र धादिङको चरौँदी जोड्ने, गण्डकी गाउँपालिका ७ बुट्टार र धादिङको चौकीटार जोड्ने पुल बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गोरखाको शहीद लखन गाउँपालिका ३ सिलिङटार र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुल पूर्ण रुपमा क्षति भएको छ ।

सुपर त्रिशुली हाइड्रोमा समेत क्षति
रसुवा बाढीले गोरखाको गण्डकी गाउँपालिका बुट्टारस्थित निर्माणाधिन सुपर त्रिशुली हाइड्रोपावरमा समेत क्षति पु¥याएको छ । हाइड्रोको दुई वटा क्रसर र त्यहाँ रहेका सामाग्री सबै बगाएको हाइड्रोका प्रदिप दुलालले बताए । ‘एउटा ड्याममा पनि क्षति पु¥यायो,’ उनले भने, ‘ढलानका लागि राखेको रडसहितको निर्माण सामाग्री पनि बगायो ।’ २७ हजार लिटर क्षमताको ट्यांकी र एउटा कन्टेनर समेत बगाएको उनले जानकारी गराए । शुक्रवार प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकायको टोलिले उक्त हाइड्रोको स्थलगत निरीक्षण समेत गरेको थियो ।
बाढी पीडितका लागि सहयोग जुट्दै
रसुवा बाढी पीडितका लागि जिल्लाबाट पनि आर्थिक सहयोग जुटन थालेको छ । जिल्ला स्थित स्थानीय तहहरुले सहयोगको घोषणा गरेका छन् । संघसंस्था, विद्यालय लगायतले सहयोग संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको बताएका छन् ।
रसुवा, नुवाकोट र धादिङसँगै गोरखाले पनि बाढीका कारण ठुलै क्षति व्यहोर्नुप¥यो । अहिले त्रिशुलीमा पानीको वहाव घटेपनि स्थानीयमा त्रास भने उस्तै छ ।



































