पालुङटारबाट गोसाईकुण्ड तीर्थयात्रा जानेहरुको सूचिमा स्थानीय दाताराम देवकोटा पनि थिए । ७५ बर्षीय उनको अघिल्लो दिनमात्र यात्रा सुनिश्चित भएको थियो ।
भोलिपल्ट विहान चार बजे जम्मा भएर पाँच बजे निस्कने पूर्वजानकारी उनले पाए । पोका पुन्तुरा मिलाउदैमा रातको एक बज्यो । एकैछिन झकाएको मात्र के थिए बाहिर होहल्ला सुने । बरण्डामा निस्केर हेरे । बस आइसकेको रहेछ । मानिसहरु जम्मा हुन थालिसकेका रहेछन् ।
‘एकैछिन झकाएको मात्र थिए बाहिर खेलावैला सुने,’ उनले भने, ‘घडी हेरेको त्यो बेला तीन बजेको रहेछ, यति चाडै किन निस्केको भनेर कराए ।’ घर अगाडी आइपुगेको गाडीलाई रोक्न खोजे तर बस केही पर महादेवटारमा पुगेर रोकियो । ‘मैले बरण्डाबाट पख पख म पनि जाने हो भन्दै थिए, सुनेन की के हो, बस महादेवटार पुगेर रोकियो,’ उनले भने ।
त्यहाँ केहीवेर गाडी रोकिन्छ भन्ने उनलाई लाग्यो । पोका पुन्तुरा लिएर निस्कने बेला उनले पानीको बोत्तल सम्झिए । खोज्न भान्सातिर छिरे ।
केहीवेरपछि यात्राका लागि घरबाहिर निस्किए । गाडी अगाडी बढीसकेको देखे । ‘अलि पर रोकिएला भनेर हेर्दै थिए गाडीको लाइट पनि देखिएन गएछ भन्ने भयो,’ उनले भने । पोका पुन्तुरा बोकेर उनी अघि बढ्न सकेनन् ।
सबै घरभित्र थन्क्याएर केही वेर आराम गरे । विहानको खाना खाएर भ्याएका मात्र थिए गाउँमा खैलावैला मच्चियो । बिहान उनलाई छाडेर गएको बस बाढीले बगायो भन्ने खवर उनको कानमा पनि प¥यो । उनी झस्किए ।
यात्रामा छुटेर मन खिन्न बनाएका उनी भगवानले आफूलाई बचाएको भन्दै सम्हालिए । ‘जान नपाउँदा म खिन्न भएको थियो तर, छुट्दा भगवानले बाटो छेकेका रहेछन्, जोगाए भन्ने लाग्यो,’ उनले भने । उनका अनुसार यात्रामा छोराबुहारी पनि जाने योजना थियो । तर गएनन् ।
आफू बाँचेपनि गाउँका ३० जनालाई बाढीले बगाएको घटनाले उनी स्तब्ध छन् । पालुङटार नगरपालिका–५ माझाटारस्थित नौखोर गाउँ यतिखेर शोकमा डुवेको छ ।



































