गोरखाको सुदुर उत्तरको हिमाली क्षेत्रमा पर्ने हालको चुमनुब्री गाउँपालिकाको चुम, कुताङ र नुब्री क्षेत्रलाई साँस्कृतिक हिसाबले ‘ब्हेयुल किमोलुङ’ भनिन्छ । ‘ब्हेयुल किमोलुङ’ को अर्थ शान्तिका लागि लुकाएर राखिएको उपत्यका भन्ने हुन्छ । अर्को अर्थमा धर्ममा संकट परेको अबस्थामा त्यसको पुनरोत्थान का लागि लुकाएर राखिएको शान्त र सुरक्षित स्थान भन्ने पनि हुन्छ ।
हिमाली बौद्ध परम्परामा अति विशिष्ट स्थान भएका गुरु पद्मसंभवले यहि ब्हेयुल किमोलुङको क्षेत्रमा धर्मनिधि लुकाएर राखेका थिए । पछि हिमाली बौद्ध परम्परा संकटमट पर्दै जाँदा विभिन्न लामा गुरुहरुले गुरु पद्मसंभवले लुकाएर राखेको कयौं धर्मनिधिहरुको खोजी गरेर प्रकाशमा ल्याई धर्मको साधना गरेको विश्वास गरिन्छ । हिमाली परम्परामा त्यसरी लुकाइएको निधि ग्रन्थलाइ तेर् र त्यो संग सम्बन्धित साँस्कृतिक परम्परालाई तेर्मा तथा निधिको खोजकर्तालाई तेर्तोन भनिन्छ । गुरु पद्मसंभवले धेरै तेर अर्थात आध्यात्मिक खजाना चुमनुब्री मा अबस्थित टाशी पाल्साङ पर्वतको विभिन्न स्थानहरू(जमिन, चट्टान, पानी आदि)मा लुकाएका थिए ।
टाशि पाल्साङ पर्वत, किमोलुङ भित्रको एक पवित्र हिमालय पर्वत हो जसको फेदमा सेराङ गुम्बा रहेको छ । यहि टाशि पाल्साङ पर्वतलाई परिक्रमा अर्थात कोरा गर्दै तिर्थयात्रा गर्ने ऐतिहासिक परम्परा लोपोन्मुख अबस्थामा छ । ऐतिहासिक किमोलुङ परिक्रमाको पुनर्जागरण गर्न सके पर्यटन प्रबद्र्धनको नयाँ गन्तब्य बनाउन सकिने प्रशस्त संभावना देखिन्छ ।
यो परिक्रमा चुम, कुताङ र नुब्री हुदै तिब्बतको केहि भाग समेत समेटिएको महिनौं लामो तिर्थयात्रा हो । बौद्ध धर्मले तिब्बती सभ्यताको विकासमा अति महत्वपूर्ण योगदान पु¥याएको थियो । तिब्बती बौद्ध परम्परामा गुरु पद्मसंभवको महिमा शाक्यमुनि बुद्धको भन्दा पनि ज्यादा पाइन्छ । उनै गुरु पद्मसंभवका अनुसार ब्हेयुल किमोलुङका बासिन्दाहरूले बुद्धधर्मलाई हृदयमा राखेर त्यसअनुसार अभ्यास गर्ने हो भने यो क्षेत्र अतिक्रमण, युद्ध, कलह, अनिकाल, भूकम्प लगायतका अप्ठ्याराहरूबाट मुक्त हुने थियो ।
उनले यसलाई पवित्र भूमि ठाने जहाँ बुद्ध धर्म फस्टाउनेछ र समर्पित साधकहरूले सजिलै आध्यात्मिक साधनामा उत्कृष्टता हासिल गर्न सक्नेछन् । यदि यहाँ बुद्ध धर्मको शिक्षा फस्टायो भने यसले सबै देशमा खुशी ल्याउनेछ । महान गुरु पद्मसम्भवले भविष्यमा आउने पतित, भ्रष्ट र संकटग्रस्तयुगमा किमोलुङ आध्यात्मिकताको केन्द्र हुनेछ भनी भविष्यवाणी गरे ।
अशान्तिपूर्णं आधुनिक समयमा आध्यात्मिक मार्गमा द्रुत प्रगतिको लागि, चित्तको एकाग्रताको लागि र मानसिक सुखको अद्वितीय अनुभुतिका लागि यस पृथ्वीको अन्तिम उत्कृष्ट स्थानहरू मध्येको एउटा स्थान किमोलुङ हुने भविष्यवाणी पनि उनले गरे । त्यस्तो महत्वपपूर्ण स्थान ब्हेयुल किमोलुङ भविष्यमा कसरी फेला पार्ने भन्ने बारेमा पनि महागुरु पद्म संभवले मार्गदर्शन गरेर गएका थिए ।
गुरु रिन्पोछे उयियानाबाट नेपाल हुदै तिब्बत जानु अघि नुब्री, कुताङ र चुम उपत्यका आएका थिए भन्ने विवरणहरू पाइन्छन् । पछि तिब्बत जाँदा उनले यस क्षेत्रलाई आशीर्वाद दिए ताकि अन्य क्षेत्रहरूमा जस्तो आक्रमण, कलह र कठिनाइहरूको चपेटामा यो क्षेत्र नपरोस र यस क्षेत्रले त्यस्ता युद्ध, अनिकाल वा भूकम्प आदिबाट प्रताडित हुन नपरोस । उनको अनुसार यदि यहाँका बासिन्दाहरूले धर्म अनुसार जीवन बिताउछन र दश कुशलकर्मको अभ्यास गर्छन भने बाह्य अतिक्रमण, भोकमरी, अकाल आदिको त्रासबाट मुक्त हुन सक्नेछन ।
हिमाली परम्परामा विशेष साँस्कृतिक महत्व बोकेको ब्हेयुल किमोलुङले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बत तर्फको भुभाग पनि समेट्छ । टासिपाल्साङ पर्वतलाई केन्द्र मानी यो परिक्रमाको लागि क्यिरोङ देखिका तिर्थयात्रीहरु कष्टपूर्वक आउँछन । परिक्रमाको क्रममा कयौं तिर्थस्थलहरुको पूजा गर्दै छोटो छोटो अवधिको ध्यान बस्ने गरिन्छ । यो परिक्रमा मार्गको समिपमा पर्ने न्याम क्षेत्रमा गर्वाङ दोर्जे नामका लामा गुरु जन्मिएका थिए । टशिपाल्साङ पर्वतमा लुकाइएका निधिग्रन्थहरु मध्येको केहि निधिहरु न्याममा जन्मेका आचार्य तेर्तोन गर्वाङ दोर्जेले निकालेका थिए ।
गर्वाङ दोर्जे किमोलुङमा आए, यस क्षेत्रको भ्रमण गरे, पवित्र स्थलहरूको पहिचान गरे र निधितिर्थहरूको विवरण लेखे । उनले यहाँ केहि धार्मिक खजानाहरू पनि फेला पारे । चुममा उनले स्थापना गरेको गुम्बा छोकाङ गाउँको केहि माथि रहेको छ । तिब्बती बौद्ध परम्पराका महान योगी मिलारेपाले पनि किमोलुङका विभिन्न स्थलहरूमा, विभिन्न गुफाहरूमा बसेर साधना गरी त्यहाँको बासिन्दालाई आशीर्वाद दिए । किमोलुङ भित्र पर्ने चुम, कुताङ र नुब्रीमा उनीसंग सम्बन्धित विभिन्न गुफा तथा स्थानहरु रहेका छन् । किमोलुङको चुम,कुताङ र नुब्री सबै क्षेत्रमा योगी मिलारेपाले ध्यानमा बसेको गुफाहरु रहेको छ । उनको जीवन कथामा ति विवरणहरु स्पष्ट रूपमा बताइएको छ ।
चुम उपत्यकाको एउटा गुफामा महायोगी मिलारेपाको पादुका समेत रहेको छ । उनको अतिरिक्त किमोलुङमा धेरै अन्य लामागुरुहरू पनि आएका थिए र विभिन्न निधिग्रन्थको खोजी गरेर सर्वमंगलार्थ विभिन्न परम्पराको शुरुवात गरेका थिए । यसरी चुम, कुताङ र नुब्रीको किमोलुङ क्षेत्रमा बौद्ध परम्पराको प्रवद्र्धन भई सभ्यताको विकासमा सहयोग पुग्न गयो । किमोलुङ मानव पशुपंक्षी लगायतका सम्पूर्ण स्थावरजंगम प्राणी तथा बनस्पति समेतको कल्याणको सुनिश्चित हुनेगरी धर्म फैलिएको ठाउँ हो ।
यहाँको तिर्थयात्राले मानिशले पुण्य सञ्चय गर्न सक्छ र आफ्नो क्लेशयुक्त चित्तलाई शुद्ध गर्न सक्छ । विकारयुक्त अर्थात मलयुक्त मनलाई निर्मल बनाउन मद्दत गर्छ । किमोलुङको परिक्रमाले मानिसको वरत्र परत्र सबै सपार्छ भन्ने विश्वास रहिआएको छ जसले यो जीवन व्यर्थ बन्न नदिई अर्थपूर्ण बनाइदिने छ । परिक्रमाबाट सञ्चित पुण्यले सद्गतिको पुनर्जन्मको विश्वास समेत रहेको छ ।
अतः चुम नुब्री र कुताङमा पर्ने ब्हेयुल किमोलुङ हिमाली बौद्ध परम्परामा तिर्थयात्राको लागि एक उत्कृष्ट क्षेत्र हो । गुरु पद्मसंभव (गुरु पेमा ज्युङ्ने जो गुरु रिन्पोछेको नामले बढी लोकप्रिय छन्) ले यसको विशिष्टताको भविष्य वाणी गरेका थिए । यो एक त्यस्तो ठाउँ हो जहाँ गुरु रिम्पोछेको अतिरिक्त महान योगी मिलारेपा र अन्य धेरै तेर्तोन आचार्यहरूले आफ्नो पाउ राखेका छन् ।
यदि यहाँ बस्ने मानिसहरू, यसको तिर्थयात्रीहरु अध्यात्मिक र सांसारिक दुवै तरिकाले समृद्ध हुनसके भने यसले सम्पूर्ण संसारलाई सुखी बनाउन मद्दत गर्नेछ भनी तेर्मा ग्रन्थहरुको विवरणमा उल्लेख गरिएको छ । गुरु रिन्पोछेले लुकाएर राखेका निधिहरुको कारण खडेरी, रोग, अनिकाल, द्वन्द, जन्मब्याधिजरामरणको सांसारिक चक्र आदिबाट मुक्ति ल्याउने सहकाल, आरोग्यता, शान्ति अहिंसा र भवचक्रबाट मुक्तिको अवस्थाहरू यहाँ विद्यमान छन् भनी ति तेर्मा ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
यसर्थ उच्च हिमाली क्षेत्रमा गुज्रने दुई देखि तीन हप्तामा पुरा गर्न सकिने नेपाल खण्डको चुम, कुताङ र नुब्रीको किमोलुङ परिक्रमा (कोरा) को पुनर्जागरणबाट यहाँको पर्यटन प्रबद्र्धन गर्ने नयाँ गन्तब्यको रुपमा विकास गर्न सकिने प्रशस्त संभावना तर्फ सबै सरोकारवालाको ध्यान जान आवश्यक देखिन्छ ।
(लेखक गोरखा संग्रहालय प्रमुख समेत हुन् ।)



































